काठमाडौं । मारुती सुजुकीको चर्चित सब फोर मिटर एसयूभी भिटारा ब्रेजा टायोटाको व्याजमा बिक्री सुरु हुने भएको छ । यसअघि सुजुकी बलेनोलाई टोयोटाले आफ्नो ब्राण्ड नेममा ग्लान्जा मोडलको रुपमा ल्याएको थियो । अब दोस्रो मोडलको रुपमा भिटारा ब्रेजालाई ल्याउन लागिएको हो ।
इन्डियन अटो व्लगका अनुसार टोयोटाले आफ्नो ब्राण्ड नेममा यसलाई आगामी अप्रिलबाट बिक्री सुरु गर्ने उल्लेख गरेको छ । यसअघि डिजेल इन्जिनमा मात्र उपलब्ध ब्रेजालाई कम्पनीले अब भने पेट्रोल इन्जिनमा मात्र ल्याउने भएको छ ।

२०२० फेसलिफ्ट ब्रेजा अटो एक्स्पोमा सार्वजनिक भएको थियो भने अबको केही दिन भित्रै यसको बिक्री वितरण सुरु हुने जनाइएको छ ।
ब्रेजामा १.५ लिटर के१५बी एसएचभीएस फोर सिलिण्डर, पेट्रोल इन्जिन दिइएको छ । स्मार्ट हाइब्रिड टेक्नोलोजीको साथ आएको उक्त इन्जिनले ९० पीएस पावर र २०० एनएम टर्क प्रदान गर्नेछ । ५ स्पीड म्यानुयल र ४ स्पीड टर्क कन्भटर अटोमेटिक गियरबक्स दिइएको छ । यसले प्रतिलिटर १९ किलोमिटर माइलेज प्रदान गर्ने एआरएआईले प्रमाणित गरेको छ ।
यसमा प्रयोग भएको हाइब्रिड टेक्नोलोजीले इन्धन बचत, आइडियल स्टार्ट र स्टप, टर्क एसिस्ट फङ्सन, ब्रेक इनर्जी रिजेनेरेशन जस्ता फिचर उपलब्ध रहेको छ ।
सन् २०२२ बाट भिटारा ब्रेजा टोयोटा किलोस्कर मोटर्सको प्लान्टमा उत्पादन गर्ने तयारी भइरहेको रिपोर्ट बाहिर आउको छ । जुन नयाँ सेकेन्ड जेनेरेशन भिटारा ब्रेजा हुने जनाइएको छ ।

