काठमाडौं । जापानी कार निर्माता टोयोटाले आफ्नो लग्जरी ब्राण्ड सेन्चुरीमा देखाएको कुपे डिजाइन एसयूभीमा ‘भी-१२ हाइब्रिड’ इन्जिन रहने रिपोर्टहरू बाहिर आएका छन् ।
कम्पनीले यसअघि ४.० लिटर ट्वीन टर्बो भी-८ इन्जिनमा ल्याउने बताइएको नयाँ कुपे मोडल अब ६.० लिटर भी-१२ प्लगन इन हाइब्रिड इन्जिनमा आउने अनुमान गरिएको हो । यसमा टोयोटाले भने कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।
टोयोटाको महत्वाकांक्षी योजनाको रूपमा रहेको कुपे मोडलमा भी-१२ हाइब्रिड इन्जिन रहेकोमा यसले ८०० हर्सपावर शक्ति प्रदान गर्नेछ । टोयोटाले भी-१२ इन्जिन यसअघि पनि प्रयोग गरिसकेको कारण बाहिर आएको रिपोर्टमा धेरैले सत्यता रहेको दाबी गर्छन् ।
टोयोटाले उक्त इन्जिन प्रयोग गर्न बीएमडब्लूको अनुमति चाहिने भएको कारण भी-१२ इन्जिन नै आउँछ भन्ने विषयमा धेरै सहमत भएका छैनन् । इन्जिन जुन प्रयोग भए पनि सेन्चुरी ब्राण्डमा आउने नयाँ कुपे कारमा इलेक्ट्रीक पावर ट्रेन भने रहने पक्का छ । जुन साइजको इन्जिनमा आए पनि यसमा प्लगइन हाइब्रिड टेक्नोलोजी समावेस हुनेछ ।
टोयोटाले गत वर्षको अक्टोबरमा सेन्चुरी ब्राण्डसँगै कुपे मोडलको घोषणा गरेको थियो । अहिले यसको कन्सेप्ट मात्रै बाहिर आएको कारण उत्पादन मोडलमा के कति परिवर्तन हुन्छ, त्यो हेर्न भने थप समय कुर्नु पर्ने हुन्छ ।

