काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक बत्ती सम्बन्धी सम्पूर्ण डाटा संकलन र आवश्यक जानकारी दिन त्यसको यर्थाथ बिबरण राख्ने भएको छ ।
उपत्यकामा अहिले १९ स्थानमा सडक बत्ती जडान गरिएको भएतापनि ती बत्तिहरु संचालनमा आउन सकेका छैनन् । भक्तपुरमा जडान ४ स्थानको बत्ति भने संचालनमा रहेको छ ।
‘उपत्यका भित्र मात्र १९ स्थानको सडकहरुमा ट्राफिक लाइट जडान भएका छन् । तर, यी १९ स्थानहरु मध्ये, केवल ४ स्थान ठिमी, कौशल्टार, गठ्ठाघर र सल्लाघारीमा मात्र ट्राफिक लाइट संचालनमा छन्’ ट्राफिक प्रहरी महाशाखाका एसएसपी उमेश रंजितकारले मेरोअटोसँग भने ।
नेपाली प्रविधिमा सडक बत्ति हाल्दा १४ लाख हाराहारीमा बन्ने हुँदा यसको कार्य संतोषजनक भए भोलिका दिनमा अन्य ठाउँमा यसैलाई निरन्तरता दिन सकिने उनले जानकारी दिए ।
बाँकी रहेका १५ स्थानहरूको ट्राफिक लाइट पूर्णरुपले मर्मत नभएका कारण ती ट्राफिक लाइटहरु प्रयोगमा आउन नसकेको रंजितकारले बताए ।
ट्राफिक लाइट बनाउने जिम्मेवारी सडक बिभागको हो, यी सबै लाइटहरु सडक विभाग माताहतमा हुने हुँदा कसरी मर्मत भइरहेको छ हामीलाई जानकारी छैन उनले भने ।
सवारी साधनका अत्याधिक चापका कारण केही स्थानहरूमा ट्राफिक लाइट निर्माण भएपनि संचालनमा कठिनाई आइरहेको उनले दाबी गरे ।
अहिले नयाँ बानेश्वर, महाराजगंज लगायतका स्थानमा सडक बत्ती संचालनमा आएपनि त्यसको सहि कार्यान्वयन हुन सकेको छैन ।
‘सडक बिभागले सडक मर्मतको लागि काम गर्दै आएको छ तर, जापनिज प्रविधिमा निर्माण भएका १५ वर्ष पुराना सडक बत्ति मर्मत नहुने अबस्थामा पुगेकाले हामी बैकल्पिक उपायको खोजीमा रहेका छौ’ बिभागका प्रबक्ता मुक्ति गौतमले मेरोअटोसँग भने ।
पछिल्ला दिनमा नयाँ बानेश्वर र महाराजगञ्जमा हामीले नेपाली प्रविधिमा सडक बत्ति हालेका छौं, त्यसको काम हेरेर अन्य क्षेत्रमा बत्ति लगाउने उनले जानकारी दिए ।
नेपाली प्रविधिमा सडक बत्ति हाल्दा १४ लाख हाराहारीमा बन्ने हुँदा यसको कार्य संतोषजनक भए भोलिका दिनमा अन्य ठाउँमा यसैलाई निरन्तरता दिन सकिने उनले जानकारी दिए ।
पद्मोदय मोड र दरवारमार्गको बत्ति अहिले संचालनमा रहेपनि त्यसमा समस्या आयो भने बनाउन कठिन रहेको गौतमले बताए ।
स्मार्ट लाईटको जमानामा ट्राफिक बसेर सवारीसाधनलाई निर्देशन दिइरहनु पर्ने अबस्थाबाट उपत्यकालाई बाहिर ल्याउन जरुरी भइसकेको छ ।

