काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा मादक पदार्थ सेवन (मापसे) गर्नेहरुलाई गरेको कारबाहीबाट १ करोड ४२ लाख २१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । यस अवधिमा १० हजार चालकको लाईसेन्सको प्वाल परिएको महानगरिय ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
महाशाखाकाअनुसार चालु आर्थिक वर्षको ६ महिनामा १६ हजार ५ सय ८८ जना मापसे कारबाहीमा परेका हुन् । यति धेरै मापसे गर्नेहरु कारवाहीमा पर्नुले अझै मापसे गरेर सवारीसाधन चलाउने उल्लेख्य रहेको देखाएको छ ।
चालु आर्थिक वर्षको ६ महिनामा कारवाहीमा पर्नेमध्ये ६६ जना महिला र १६ हजार ५ सय २२ जना पुरुष रहेको महाशाखाका प्रवक्ता वसन्त पन्तले जानकारी दिए ।
मापसे कारबाहीको अभियान २०६८ साल मंसिर १७ गतेदेखि सुरु भएको हो । उक्त समयदेखि हालसम्म २ लाख ८९ हजार ५ सय ४५ जना मापसे कारबाहीमा परेको महाशाखाले जानकारी दिएको छ ।
महाशाखाको तथ्याङ्कअनुसार हालसम्म कुल १ हजार ६ सय १३ महिला मापसे कारबाहीमा परेका छन् भने २ लाख ८७ हजार ९ सय ६७ जना पुरुषलाई मापसेको कारबाहीको दायरामा ल्याइएको तथ्याङ्कले देखाएको छ ।
१० हजार बढीको लाइसेन्स प्वाल परे
चालु आर्थिक वर्षको पुस मसान्तसम्म मापसे कारबाहीमा परेर १० हजार ८ सय ८९ जनाको लाइसेन्स प्वाल परेको छ ।
चालु आर्थिक वर्षको ६ महिनामा १० हजार २३ जनाको लाइसेन्समा पहिलो पटक प्वाल पारिएको छ भने, दोस्रोपटक लाइसेन्स प्वाल पार्नेमा ५ सय २८ जना परेका छन् ।
२ सय ११ जनाको लाइसेन्स तेस्रो पटक–पटक प्वाल पारिएको छ भने ८१ जनाको लाइसेन्स लगातार चौथोपटकसम्म प्वाल पारिएको महाशाखाले जानकारी दिएको छ ।
यस्तै, पाँचौपटकसम्म लगातार २८ जनाको लाइसेन्स प्वाल पारेको महाशाखाको तथ्याङ्कले देखाएको छ ।
१८ जनाको लाइसेन्स निलम्बन
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ५ चोटीभन्दा बढी मापसे कारबाहीमा परेर १८ जनाको लाइसेन्स निलम्बन गरिएको महाशाखाले जानकारी दिएको छ ।
मापसेको कारवाही सुरुगरेदेखि हालसम्म ५ पटकभन्दा बढी पटक मापसे कारबाहीमा परेर ४ सय २४ जनाको लाइसेन्स निलम्बन भएको छ ।

