शिवरात्रीका दिन यी सडकमा सवारी चलाउन नपाइने, ६ ठाउँमा पार्किङ व्यवस्था

काठमाडौं । फागुन ३ गते (आइतबार) महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ ।

कार्यालयले पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीलाई सहज रूपमा आवत जावत तथा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको हो ।

ट्राफिकले सहज ट्राफिक व्यवस्थापनका लागि विभिन्न सडकमा सवारी चलाउन निषेध, सवारी डाइभर्सनको व्यवस्था गरेको छ । विभिन्न नाका भई भित्रिने भक्तजनका सवारी साधनहरू छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाइएको छ ।

ट्राफिक प्रहरीका अनुसार सिफल चौरमा दर्शानार्थीहरूको सवारी, पास वाहक सवारी र सुरक्षाकर्मीका सवारी साधन पार्किङ व्यवस्था मिलाइएको छ । त्यस्तै, भण्डारखालर कोषको कार्यालयमा पासवाहक सवारी, तिलगंगा आँखा अस्पताल, करिडोर र र गुहेश्वरीमा तिर्थयात्री, दर्शानार्थी, पर्यटकका सवारी पार्किङ गर्न सकिने छ ।

त्यसैगरी, वनकाली क्षेत्रमा शिविर संचालन गर्ने संघ संस्थाहरू, दमकल, एम्बुलेन्स, खानेपानी, सुरक्षाकर्मी र प्रहरी वृत्त गौशालामा पासवाहक सवारी पार्किङको व्यवस्था मिलाइएको छ ।

दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने सवारी साधन सञ्चालन गर्न नसक्ने अवस्था आएमा मात्रै गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्गको प्रयोग गरि सहज आवागमनको व्यव्स्थापन गर्नेछ । त्यसका लागी करिडोर सडक र भित्री सडकहरूमा समेत बाक्लो मात्रामा ट्राफिक प्रहरी खटाइने छ ।

चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाधरुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको छ । तर, भक्तजनको भिडभाड अत्याधिक भई सवारी आवागमनमा समस्या हुने अबस्था भएको खण्डमा डाईभर्सन गरी वैकल्पिक मार्गबाट सवारी साधन सञ्चालनको व्यवस्था मिलाइने छ ।

तीनकुनेबाट सिनामङ्गलतर्फ,बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्क तर्फ आउने सम्पूर्ण मालबाहक सवारी साधनहरूलाई आवश्यकता अनुसार निषेध गरिने छ ।

बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ । गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशाला तर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने ट्राफिक प्रहरीले जनाएको छ ।


Back_to_top