काठमाडौं । भारतमा विभिन्न तीन ब्राण्डले साना इलेक्ट्रीक एसयूभी ल्याउने भएका छन् । टाटा, हुन्डाई र किया ब्राण्डमा साना एसयूभी आउने भएका हुन् ।
सन् २०२६ मै बजारमा आउने तीन इलेक्ट्रीक एसयूभी मध्ये टाटाले आफ्नो सफल मोडल पन्च ईभीलाई अपग्रेड गरेर ल्याउन लागेको हो । यसका अलावा अन्य दुई कोरियाली ब्राण्डले भने नयाँ मोडल नै ल्याउन लागेका छन् ।
हुन्डाई र कियाले बजारमा ल्याउने नयाँ ईभीको धेरै कुरा टुङ्गो लागिसकेको भए पनि नाम भने एकिन भइसकेको छैन । सन् २०२६ मै हुन्डाई र कियाको नयाँ मोडल पनि बजारमा आउने छन् ।
भारतमा ईभीको बिक्रीमा क्रमिक सुधार आइरहेको कारण धेरै ब्राण्डहरू ईभी ल्याउन हतार गरिरहेका छन् । अहिले पनि टाटा, हुन्डाई र कियाले भारतमा ईभी उत्पादन गर्दै आएका छन् ।
बजारमा आउने तयारीमा रहेका ३ नयाँ मोडलको बारेमा यहाँ चर्चा गरिएको छ ।
टाटा पन्च ईभी
भारतीय ईभी लिडर ब्राण्ड टाटाले आफ्नो सफल माइक्रो एसयूभी पन्चको विद्युतीय मोडल अहिले पनि बिक्री गर्दै आएको छ । कम्पनीले पन्चको फेसलिफ्ट मोडलको रूपमा फेब्रुअरी २० तारिखमा सार्वजनिक गर्दैछ ।

टाटा मोटर्सले नयाँ पन्च ईभीको बाहिरी डिजाइनमा परिवर्तन गरेको छ । साथै, अगाडिको ग्रिल, तल्लो बम्पर र एयर ड्यामको डिजाइन पनि परिमार्जन गरेर ल्याउन लागेको हो । नयाँ पन्च ईभीको डिजाइन बाहिर आइसकेको छ ।
कम्पनीले यसको ह्वीलको डिजाइन पनि रिवर्तन गरेको देख्न सकिन्छ । बाहिरको डिजाइनमा परिवर्तन देखिए पनि भित्र इन्टेरियरको परिवर्तन कस्तो छ भन्ने जानकारी दिइएको छैन । सम्भवतः कम्पनीले यसमा पहिलेकै २५ र ३५ किलोवाट आवरको ब्याट्री रहने छ । मोटर पनि पहिलेकै हुनेछ ।
हुन्डाई एक्सटर ईभी
हुन्डाईले कोरियामा बिक्री गर्दै आएको इन्स्टर वा भारतमा बिक्री हुँदै आएको एक्सटरको इलेक्ट्रीक भर्सन आगामी सेप्टेम्बर आसपासमा बिक्री थाल्ने रिपोर्टहरू बाहिर आएका छन् ।

भारतमा ईभीको माग उच्च हुँदै जाँदा कोरियाली कार निर्माताले कम बजेटको ईभीको रूपमा यसलाई ल्याउन लागेको हो । अहिल्यै यसमा रहने ब्याट्री साइज लगायतका कुराको जानकारी नदिएपनि ३०० किलोमिटर माथि रेन्ज रहने बताइएको छ । यसले भारतमा टाटा पन्च ईभीसँग नै सिधा प्रतिस्पर्धा गर्नेछ । भारतमा बिक्री सुरू भएसँगै यो माइक्रो एसयूभी नेपाल पनि आउने सहजै अनुमान गर्न सकिन्छ ।
किया सिरोस ईभी
कियाले अन्तर्राष्ट्रिय बजारमा बिक्री थाल्ने योजना बनाएको ईभी टु मोडल भारतमा सिरोस नामबाट आउने सम्भावना छ । प्योर ईभी प्लेटफर्ममा बन्ने सिरोस मोडल निकै हाइटेक फिचरले भरिपूर्ण हुनेछ ।
कियाले यसलाई फरक ब्याट्री अप्सन र मोटरमा उपलब्ध गराउने अनुमान गरिएको छ । सम्भवतः आगामी अक्टोबर अन्तिमसम्ममा बजारमा आउने किया सिरोस पनि नेपाल आउन सक्ने मोडल हो । कियाले भारतमा उत्पादन गरेका सबै मोडल अहिलेसम्म नेपाली बजारमा उपलब्ध हुँदै आएको छ ।

