काठमाडौं । महानगरिय ट्राफिक प्रहरी महाशाखाले दशैं तिहारको अवसरमा उपत्यकाका तीनवटै जिल्लाको सुरक्षा व्यवस्था कडा बनाउन ट्राफिक राइडर्स स्क्वाड (टिआरएस)को सुरुवात गरेको छ । महाशाखाले ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्युनिकरण गर्ने उद्देश्यसहित प्रत्येक दिन बिहान ५ बजेदेखि राति ८ बजेसम्म ट्राफिक राइडर्स स्क्वाड परिचालन गर्ने भएको छ ।
महाशाखाका प्रवक्ता शैलेश थापा खत्रीले ट्राफिक प्रहरी र जनपथ प्रहरीलाई संयुक्तरुमा परिचालन गरि ट्राफिक व्यवस्थापनलाई चुस्त बनाइने जारकारी दिए । उनले काठमाडौंमा ६, ललितपुरमा २ र भक्तपुरमा २ गरी उपत्यकाका १० वटा सेक्टरमा ट्राफिक प्रहरी परिचालन गरिने बताए ।
काठमाडौंको बबरमहल, मैतिदेवीमोड, कमलादी, नागपोखरी, भाटभटेनी, नागस्थान, जमल, गल्कोपाखा, भोटेबहाल, कुलेश्वर, बाफल, नैकाप, माछापोखरी, बाँसबारी, एकाडेमीमोड, गोपीकृष्ण, जोरपाटी, चावहिल, नयाँ वानेश्वर, तीनकुने, जडिबुटीमा बेस खडा गरी ट्राफिक प्रहरी परिचालन गरिने छ ।
यस्तै ललितपुरको सातदोबाटो, हरिहर भवन, एकान्तकुनामा र भक्तपुरको गठ्ठाघर चोक, नयाँ ठिमी र सल्लाघारीमा रहेका बेसमार्फत उक्त टोली परिचालन गरिने महाशाखाले जानकारी दिएको छ । यस्ता प्रहरीहरुलाई महाशाखामा १ दिने तालिम प्रदान गरी कार्यक्षेत्रमा खटाइएको हो । प्रत्येक बेसबाट एउटा मोटरसाइकलमा १ जना ट्राफिक र १ जना जनपद प्रहरी परिचालन गरिने प्रवक्ता खत्रीले बताए ।

