त्रिपुरेश्वरमा आगलागी भएको बसका चालकसँग अरूकै लाइसेन्स, फरार सूचीमा

काठमाडौं । सोमबार त्रिपुरेश्वरमा आगलागी भएको रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसका चालक अर्जुन दोङले अर्कैको लाइसेन्स प्रयोग गरेको पाइएको छ ।

सोमबार उनले दाबा लामाको नाममा रहेको लाइसेन्स प्रयोग गरेर सवारी चलाएका थिए । तर, प्रहरी अनुसन्धानको क्रममा उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका, सिस्नेरीका अर्जुन दोङ रहेको प्रमाणित भएको हो ।

आगलागीमा गम्भीर घाइत उनको आज बिहान कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेले प्रारम्भिक अनुसन्धानको क्रममा मृतक दोङ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका, सिस्नेरीका बासिन्दा रहेको खुलेको बताए । उनी बुबा श्यामबहादुर दोङ तामाङ र आमाको नाम बिनु तामाङको छाेरा रहेको खुलेको उनले बताए ।

अनुसन्धानको क्रममा मृतक चालक प्रहरीको फरार सूचीमा रहेको देखिएको छ । २०८२ कात्तिकमा बालाजुमा उनले चलाएको बस पल्टिँदा ३ जना घाइते भएका थिए । घटनापछि उनी फरार रहेको खुलेको हो । सो बेला उनले अर्कै व्यक्ति सुनील तामाङको नाममा लाइसेन्स प्रयोग गरेको पाइएको छ ।

त्यस्तै, करिब ३ महिनाअघि मूलपानी उनले ट्राफिक प्रहरीलाई अभद्र व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ । सो बेला उनले दावा तामाङको नामको लाइसेन्स प्रयोग गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

उनले दाबा तामाङको नामको नागरिकता तथा बैंक खाता समेत प्रयोग गर्दै आएको तथ्य फेला परेको छ । अरु नै व्यक्तिको लाइसेन्स, नागरिकता तथा कागजात प्रयोग गरेको बारे थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

त्रिपुरेश्वर घटनाको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं र उपत्यका प्रहरी परिसरले छुट्टाछुट्टै छानबिन समिति गठन गरेका छन् । उक्त समितिको प्रतिवेदन आएपछि थप तथ्य खुल्नेछ ।


Back_to_top