काठमाडौं । त्रिपुरेश्वरदेखि टेकुको बाटो जाँदै गर्दा मेरो आँखा एक दृष्टी विहिन युवकमा पुगेर रोकियो । उनी सेतो र कालो रंग भएको ब्लाइन्ड स्टिकले बाटो पहिचान गर्ने कोशिस गर्दै थिए । फुटपाथमा हिडिरहेका उनको स्टिक एउटा फलामको भर्याङ्गमा अड्कियो ।
उनी निकै बेर आफ्नो लठ्ठि फलामबाट निकाल्ने कोशिस गरिरहे । केही समयको प्रयास पछि उनको कोशिस सफल पनि भयो । म केही टाढाबाट उनका कृयाकलाप निहाली रहेको थिएँ । ति युवक केही अगाडि पुगेर फेरि एउटा मोटरसाइकलमा ठोक्किए । जुन फुटपाथमै पार्क गरिएको थियो । फेरी केही मिटर अगाडि नपुग्दै उनी एउटा बिजुलीको खम्बामा ठोक्किन पुगे ।
‘अफिस टाइममा फुटपाथमा हिड्यो भने लाइनै बसे जस्तै लाग्छ, यसरी तलबाट हिड्दा न कसैसँग ठोकिने न भिड’ कार्कीले भनिन् ।
यो दृष्यले मलार्ई ति युवकसँग बोल्न बाध्य बनायो । उनको नाम सेरोज लामा रहेछ । धुप बेच्दै हिडेका उनी बौद्ध बस्दा रहेछन् । प्रत्येक दिन रत्नराज्य क्याम्पसको पढाई सकेपछि २ घण्टा उनी यसरी धुप बेच्न हिडेदा रहेछन् ।
सिन्धुपाल्चोक घर भएका उनी आफ्नो छाक टार्नकै लागि सडक छेउछाउका पसलहरुमा धुप बेच्ने गर्दा रहेछन् । उनलाई त्रिपुरेश्वरको बाटोमा हिड्न प्राय निकै समस्या हुँदो रहेछ ।
‘यो एरियामा हिड्न गाह्रै हुन्छ, तर रोटी खानै पर्यो, नहिडि सुखै छैन, अब त ठोकिदै हिड्ने बानी नै परिसक्यो,’ लामाले भने ।

त्रिपुरेश्वरको यो सडकखण्ड दृष्टि विहिन र अशक्त मानिसहरुको लागि निकै कठिन बन्ने गरेको छ । प्राय यहाँ हिड्ने मानिसहरु फुट पाथमा भन्दा बढी सडकबाटै हिडिरहेका हुन्छन् ।
फुटपाथ त्रिपुरेश्वर टेकु एरियामा व्यवसाय गर्ने पसलेहरुले ओगटेका छन् । बाटो हिड्दा पसलका विभिन्न सामानहरुमा ठोक्किदै हिड्नु पर्ने अवस्था रहेको छ ।
टेकु जाँदै गरेका ललितपुर ठेटु निवासी रामप्रशाद पुडासैनीको गुनासो पनि उस्तै रहेको छ । ७५ वर्षिया पुडासैनी त्रिपुरेश्वरको बाटो हिड्न व्यापारीहरुले सामान राखेर नदिएको गुनासो गर्छन् ।
लौरो टेकेर हिड्ने उनी सडक अतिक्रमण हुँदापनि सम्बन्धीत निकायले चासो नदेखाएकोमा रोष प्रकट गर्छन् ।
‘यस्तो साँघुरो बाटो छ बीच–बीचमा झन् पोल ठडिएकाले हिड्न निकै कठिन छ, जसरीपनि आफ्नो गन्तव्यमा त पुग्नु पर्यो नि,’ पुडासैनीले भने ।
यस्तै फुटपाथ छोडेर बाटोमा हिडिरहेकी सुस्मा कार्की फुटपाथ नै साँघुरो भएकोले हिड्न अफ्ठेरो हुने बताउँछिन् ।
‘अफिस टाइममा फुटपाथमा हिड्यो भने लाइनै बसे जस्तै लाग्छ, यसरी तलबाट हिड्दा न कसैसँग ठोकिने न भिड’ कार्कीले भनिन् ।
तर, उनले सडकबाट हिड्दाको जोखिमको विषयमा भने केही भनिन् ।

राजधानीकाे मुटुमा फुटपाथ मिचिएकाे त्रिपुरेश्वरको बाटो हेर्ने हो भने त्यहाँ मुस्किलले २ जना मान्छे सँगै डिह्न सक्छन् होला । केही ठाउँमा फुटपाथ फराकिलो बनाइए पनि केहीमा एक जनासमेत हिड्न सकिदैन ।
ठाँउ–ठाउँमा फुटपाथ नै छेकेर पसल संचालनमा छन् भने कही पसलेहरुले सामान राखेर मिचेका छन् । जसको अहिलेसम्म कुनै समाधान हुन सकेको छैन ।
मापदण्ड भन्दा साँघुरा बाटा त्यसमा बीचमा उभिएका बीजुलीका खम्बाका कारण यहाँ हिड्ने प्राय मानिसहरु फुटपाथबाट भन्दा सडकबाटै हिड्न रुचाउँछन् ।
नेपालको सडक मापदण्ड, २०७० (संशोधित) भएको छ । नयाँ मापदण्ड अनुसार व्यस्त ठाउँमा कम्तिमा १.५ मिटर फुटपाथ हुनुपर्ने हुन्छ ।
फुटपाथमा मान्छेको चाप अनुसार चौडाई बढाउनु पर्ने हुन्छ । ५ सयभन्दा बढी मानिस आवतजावत गर्ने सडकमा १.५ मिटर चौडाईको फुटपाथ हुनुपर्ने मापदण्ड रहेको छ । त्यस्तै १५ सय जना हिँड्ने सडकमा भने २ मिटरको फुटपाथ हुनुपर्ने व्यवस्था छ । ३५ सय मानिसले प्रयोग गर्ने ठाउँमा ३ मिटर चौडाइको फुटपाथ हुनुपर्ने कानुनी व्यवस्था रहेको छ ।

यातायात इन्जिनीयर अन्नत कार्कीका अनुसार विश्वव्यापी रुपमा फुटपाथको चौडाई ४ मिटर हुनु पर्ने मापदण्ड रहेको छ । तर, हरेक ठाउँमा सोहि मापदण्ड अनुसार फुटपाथ निर्माण सम्भव नभएकाले कम्तिमा १.२ देखि १.५ मिटरको सम्मको फुटपाथ निर्माण गर्नुपर्ने व्यवस्था रहेको छ ।
सडकमा ह्विलचीयर अट्ने गरी १.५ मिटरसम्मको फुटपाथ निर्माण गर्नुपर्ने व्यवस्था रहेको कार्की बताउँछन् ।


