काठमाडौं । हुन्डाई मोटर्सले भारतीय बजारमा उत्पादन गर्ने तीन कारमा टर्बो इन्जिन दिने भएको छ ।
कम्पनीले केही महिनाअघि बिक्री सुरु गरेको ग्रान्ड आई १० नियोसको स्पोर्ट भर्सन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले उक्त मोडलमा १.० लिटर टर्बो चार्ज्ड इन्जिन दिने जनाएको छ ।
५ स्पीड म्यानुयल गियरबक्सको साथ आउने उक्त इन्जिनले १०० पीएस पावर प्रदान गर्ने जनाइएको छ ।
त्यस्तै कम्पनीले आगामी जनवरी २१ बाट भारतमा बिक्री सुरु गर्न लागेको अउरा सेडान कारमा पनि टर्बो इन्जिन उपलब्ध हुने छ । कम्पनीले तयार गरेको सब फोर मिटर कम्प्याक्ट सेडानमा पनि उही १.० लिटर टर्बो चार्ज्ड इन्जिन उपलब्ध रहने जनाइएको छ । यसमा यसको अलावा १.२ लिटर कापा टी-जीडीआई पेट्रोल र १.२ लिटर इकोटर्क डिजल इन्जिनमा पनी अउरा उपलब्ध हुनेछ ।
साथै, कम्पनीको चर्चित क्रस ह्याच आई २० एक्टीभमा पनि १.० लिटर टर्बो इन्जिन नै उपलब्ध हुने जनाइएको छ । यसमा उपलब्ध इन्जिनले १२० हर्सपावर प्रदान गर्ने जनाइएको छ ।
यी सबै कार सन् २०२० मा नै बिक्री सुरु हुने र नेपाली बजारमा पनि उपलब्ध हुन सक्ने मोडलमा पर्छन् ।

