कम बजेटमा स्पोर्टी बाइक खोज्नेलाई रेडर १२५ र एक्स्ट्रीम १२५ मध्ये कुन ठिक ?

काठमाडौं । हिरोले एक्स्ट्रीम १२५ आर सार्वजनिक गरेसँगै यो सेग्मेन्टमा कडा प्रतिस्पर्धा हुने भएको छ । अहिले स्पोर्टी कम्यूटर १२५ सीसी सेग्मेन्टमा बजाज पल्सर र टीभीएस रेडर बिक्री हुँदै आएकोमा हिरोको नयाँ मोटरसाइकल पनि प्रतिस्पर्धामा थपिएको हो ।

हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोटर्सले २ लाख ८९ हजार रुपैयाँ सुरुवाती मूल्य तोकेर एक्स्ट्रीम १२५ आरको बिक्री सुरू गरेको छ । यही सेग्मेन्टमा बिक्री हुँदै आएको टीभीएस रेडर १२५ को मूल्य २ लाख ७० हजार ९०० रुपैयाँ छ ।

बजारमा थपिएको नयाँ प्रतिस्पर्धी एक्स्ट्रीम १२५ आर र टीभीएस रेडर १२५ बीच रहेका फरकलाई हामीले यहाँ केलाउने प्रयास गरेका छौं ।

लुक्स

१२५ सीसी सेग्मेन्टमा उपलब्ध यी दुई मोटरसाइकल मध्ये हिरो एक्स्ट्रीम १२५ रेडरको तुलनामा बक्सी र फ्रन्ट लुक अझै एग्रेशिभ देखिन्छ । एक्स्ट्रीम १२५ को स्प्लीट सिट, फ्यूल ट्याङ्कको साइज र टायर साइज रेडरको तुलनामा ठूलो देखिन्छ । यसले रेडरभन्दा एक्स्ट्रीम १२५ थप स्पोर्टी बनाएको छ ।

इन्जिन

इन्जिनको तुलना गर्दा यी दुबै मोटरसाइकलमा कडा टक्कर देखिन्छ । यी दुबै मोटरसाइकलको पावर फिगर लगभग समान नै छ ।

टीभीएस रेडरमा १२४.५ सीसी क्षमताको सिंगल सिलिण्डर, थ्री भल्ब, आयल कुल्ड इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ७५०० आरपीएममा ११.२ हर्स पावर र ६००० आरपीएममा ११.२ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स छ । रेडर १२५ ले ० देखि ६० किलोमिटरको स्पीड केवल ५.९ सेकेन्डमा भेट्टाउन सक्छ ।

हिरो एक्स्ट्रीम १२५ आरमा १२४.७ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर कूल्ड, फोर स्ट्रोक, स्प्रीन्ट इबीटी इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ८ हजार २५० आरपीएममा ११.५ बीएच पावर र ६००० आरपीएममा १०.५ एनएमको टर्क जेनेरेट गर्छ । यसमा पनि ५ स्पीडको गियरबक्स छ । यो मोटरसाइकलले पनि ० देखि ६० किलोमिटरको स्पीड मात्र ५.९ सेकेन्डमै पुरा गर्नेछ ।

इन्धन/माइलेज

दुबै मोटरसाइकलमा १० लिटर प्यmुल ट्याकं क्यापासीटी छ । कम्पनीले बताए अनुसार हिरो एक्स्ट्रीम १२५ आरले ६६ किलोमिटर प्रतिलिटर माइलेज दिनेछ । रेडर १२५ बीएस सिक्स इन्जिनको माइलेज पनि ६६ किलोमिटर प्रतिलिटर नै छ ।

सस्पेन्सन/ब्रेक

दुबै मोटरसाइकलमा ट्युवलेस टायर र अलोय ह्वील पाउन सकिन्छ । हिरोले एक्स्ट्रीममा अगाडि डिस्क ब्रेक, पछाडि ड्रम ब्रेक, कम्बाइन ब्रेकिङ सिस्टम दिएको छ । यसको फ्रन्टमा टेलिस्कोपीक फर्क र रियरमा शोवाको प्रिलोड एड्जस्टेवल मोनोशक छ ।

टीभीएस रेडरमा पनि सिंगल डिस्क भेरियन्ट मात्रै उपलब्ध रहेको छ । यसमा अगाडि टेलिस्कोपीक फर्क र पछाडि मोनोशक सस्पेन्सन दिइएको छ । टीभीएसले पनि रेडरमा कम्बाइन ब्रेकिङ सिस्टम उपलब्ध गराएको छ ।

फिचर

प्रिमियम कम्प्यूटर सेग्मेन्टमा आधारित दुबै मोटरसाइकल स्पोर्टी डिजाइन, उत्कृष्ट लुक्स र आधुनिक फिचर भएका मोटरसाइकल हुन् ।

एक्स्ट्रीम १२५ आरमा कम्पनीले ‘फस्र्ट इन सेग्मेन्ट’ फिचरहरु दिएको छ । यसमा रेजर शार्प एलइडी प्रोजेक्टर लो-स्लङ्ग हेडल्याम्प र एलइडी टर्न इन्डिकेटर, डिजिटल कन्सोल, एलसीडी युनिट, डाइमन्ड फ्रेम, एलइडी डिआरएल जस्ता फिचर पाउन सकिन्छ ।

टीभीएस रेडरमा एलइडी हेडल्याम्प, सि आकारको एलइडी डे टाइम रनिङ लाइट, ५ इन्चको टिएफटी इन्ट्रुमेन्ट क्लष्टर, स्प्लीट सिट, सिंगल पिस ग्राबरेल, अलोय ह्वील, यूएसबी चार्जिङ पोर्ट जस्ता फिचर उपलब्ध छन् ।


Back_to_top