काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले शंकास्पद दुई वटा गाडीहरुसहित दुई जनालाई पक्राउ गरेको छ ।
ट्राफिक प्रहरीले आइतबार बा १६ च ३१३१ र बा १६ च ४०१७ नम्बरका मारुती सुजुकी स्वीफ्ट कारसहित २ जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बा १६ च ३१३१ नम्बरको स्वीफ्ट कारसहित रामेछापको दोरम्बा गाउँपालिका ४ घर भइ काठमाडौँको जोरपाटी बेशीगाउँ बस्ने ४० वर्षीय धन बहादुर तामाङलाई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका ८ शिवचोबाट पक्राउ गरिएको हो ।
त्यस्तै, बा १६ च ४० १७ नम्बरको स्वीफ्ट कार सहित सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ का ३९ वर्षीय मोहन लामालाई काठमाडौँको बौद्धबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
अनुसन्धानको क्रममा उक्त कारहरु यातायात व्यवस्था कार्यालय एकान्तकुना र सम्बन्धित सुजुकी आधिकारिक कम्पनीमा अभिलेखमा रहेको नदेखिएको हुँदा भारतबाट चोरी पैठारी गरी नेपाल भित्राई संचालनमा ल्याएको देखिएको ट्राफिक प्रहरीले जनाएको छ ।
सवारी साधन प्रयोगकर्ता धन बहादुर तामाङ्ग र मोहन लामालाई थप अनुसन्धान तथा कारवाहीको लागि त्रिभूवन विमानस्थल गौचर पठाइएको छ ।


