काठमाडौं । देशको संघीय राजधानी काठमाडौंमा सार्वजनिक यातायात चढ्न निकै सास्ती भोग्नुपर्छ । सार्वजनिक यातायात सहज, छिटो छरितो, सुविधाजनक, आरामादायी छैन । समयमै गन्तव्यमा नपुग्ने, कोचिएर/उभिएर यात्रा गर्नुपर्ने, कतिपय अवस्थामा चालक/सहचालकबाट अपमानित हुनुपर्ने अवस्था समेत छ ।
त्यही, सास्तिको सार्वजनिक सवारी चढ्नु अघि पनि यात्रुलाई सुख छैन । अधिकांश ठाउँमा सडक किनारामा उभिएरै गाडी कुर्नुपर्छ । हरेक बस स्टेसनमा यात्रुका लागि सुविधायुक्त बस बिसौनी छैनन् । भएकामा पनि साँघुरा, सीमित व्यक्ति मात्रै बस्न मिल्छ । बस कुर्दा धेरैजसो उभिनै पर्ने बाध्यता छ ।
यात्रुको सोही समस्यामा थोरै भए पनि राहत दिन काठमाडौं महानगरपालिकाले परम्परगता शैलीकाे फल्चा ( बसबिसौनी) निर्माण तीव्र बनाएको छ । महानगरपालिकाले विगत २ वर्षदेखि परम्परागत शैलीको बसबिसौनी (फल्चा) निर्माण अभियान नै चलाएको छ । महानगरले अहिले आफ्नो क्षेत्र भित्रका मुख्य सडकमा धमाधम फल्चा निर्माण गरिरहेको हो ।
काठमाडौं महानगरपालिको नेतृत्वमा बालेन्द्र शाह आएसँगै सुरू भएको यो अभियान अहिले सार्थकर्ता पाउँदै गएको छ । मेयर बालेनले आफ्नो चुनावी घोषणापत्रमै फल्चा निर्माण गर्ने घोषणा गरेको थिए । आव २०७९/८० मा बजेट समेत विनियोजना गरेका थिए । त्यसयता हरेक वर्ष फल्चा निर्माणका लागि बजेट छुट्याउँदै आएका छन् ।आर्थिक वर्ष २०८०/८१ बिजुली बजारमा दुईवटा फल्चामा निर्माण सम्पन्न गरेको महानगरले चालु वर्षमा साढे दर्जन फल्चा निर्माण गरिरहेको छ ।
काठमाडौं महानगरपालिका, सम्पदा तथा पर्यटन विभागका इन्जिनीयर रवीन्द्र रिजालले महानगरको नेतृत्वमा बालेन शाह आएसँगै फल्चा निर्माण अघि बढाइएको बताए । उनले संस्कृति जगेर्नासँगै यात्रुलाई सुविधा उपलब्ध गराउने उद्देश्यले फल्चा निर्माण गरिएको बताए ।
उनले हाल ३० बढी फल्चा निर्माणाधीन अवस्थामा रहेको जानकारी दिए । तीमध्ये अधिकांश निर्माणको अन्तिम चरणमा रहेको उनले बताए ।
उनका अनुसार महानगरले २ प्याकेजमा ठेक्का लगाएर २० वटा फल्चा निर्माण गरिरहेको छ । त्यस्तै, वडास्तरबाट पनि १० बढी फल्चा निर्माण भइहरको उनले बताए ।

गंगा एण्ड केपी सन्सले २ करोड ६८ लाख रुपैयाँमा १० वटा फल्चा निर्माणको ठेक्का पाएको छ । यस कम्पनीले २०८२ माघ ५ गतेभित्र सबै फल्चा निर्माण गरिसक्नुपर्नेछ ।
त्यस्तै, आरआर कन्स्ट्रक्सनले १२ वटा फल्चा निर्माणको ठेक्का पाएको छ । यसले माघ २३ सम्म काम सम्पन्न गर्नुपर्नेछ । दुवै कम्पनीले पाएको ठेक्का भेरियसन गरी थप २/४ वटा फल्चा निर्माण समेत गर्न सकिने उनले बताए । महानगरपालिकाले फल्चा निर्माण योजनालाई आगामी आवमा पनि निरन्तरता दिने उनले बताए ।
हाल महानगरले उपलब्ध ठाउँ अनुसार फल्चा निर्माण गरिरहेको छ । फल्चाको साइज १२.५ फिट चौडार र लम्बाइ ठाउँ अनुसार २०/२५ फिटसम्का रहेका उनले बताए । फल्चाको औसत लागत करिब ३० देखि ३५ लाख रुपैयाँ हाराहारी रहेको उनले बताए । महानगरले हाल निर्माण गरिरहेको फल्चाको कुल लागत ९ करोड रुपैयाँ बढी रहेको छ ।
कहाँ-कहाँ बन्दैछन् फल्चा ?
महानगरले हाल काठमाडौंको मुख्य सडक किनारामा फल्चा निर्माण गरिरहेको छ । माइतीघर कोटेश्वर सडक खण्डमा मात्रै ११ वटा फल्चा निर्माणाधीन अवस्थामा छन् । जसमा बबरमहलमा १, नयाँ बानेश्वर २, मीनभवन (निजामती अस्पताल अगाडि) २, तीनकुने पुल नजिक २ र कोटेश्वरमा ४ वटा निर्माण भइरहेको छ । निर्माणाधीन फल्चा मध्ये नयाँबानेश्वर चोकको सबैभन्दा ठूलो र विशेष प्रकृतिको रहेको उनले बताए ।
बबरमहल-कोटेश्वर खण्डमा यसअघि आव २०८०/८१ मै २ वटा फल्चा निर्माण सम्पन्न भएको थियो । बिजुलीबजार वारी र पारी दुवैतर्फ १/१ वटा फल्चा निर्माण गरिएको थियो । यी सहित यस खण्डमा मात्रै १३ वटा फल्चा हुने छन् ।
त्यसैगरी, चाबहिलमा २ वटा, कलंकी (मकालु पेट्रोल पम्प अगाडि) २ वटा, एयरपोर्ट २ वटा, बसुन्धरा, वालुवाटार, विशालनगर (फिनल्याण्ड एम्बेसी) निर १/१ वटा फल्चा निर्माणाधीन अवस्थामा छन् ।
त्यस्तै, वडा स्तरमा पनि १० बढी फल्चा निर्माण भइरहेको छ । केही उपभोक्ता समिति र केही वडा स्तरीय ठेक्काबाट पनि फल्चा निर्माण भइरहेको उनले बताए । उनका अनुसार वडा नं. ८, १०, २८, १ लगायतमा १० बढी फल्चा निर्माण भइरहेको छ ।


