बागमतीमा दर्ता बन्द हुँदा नारायणीमा दर्ता गरेर बाइक ल्याईदै

काठमाडौं । सरकारले बेलैमा निर्णय नगर्दा बाग्मतीमा नयाँ मोटरसाइलको दर्ता रोकिएको तीन दिन भएको छ । दर्ता रोकिएपछि अहिले ब्यवसायीहरुले नारायणीमा दर्ता गरेर बाइकहरु काठमाडौं ल्याएर बिक्री गर्न सुरु गरेका छन् ।  

साविकको बाग्मती अञ्चलमा ९९ लटसम्म मोटरसाइकल दर्ता भइसकेकोले अब कसरी नम्बर दिने भन्ने नीतिगत अड्चनका कारण मोटरसाइकल दर्तामा समस्या आएको हो ।  

दशैंको मुखमा दुईपाङ्ग्रे सवारीसाधनको दर्ता रोकिदा मोटरसाइकल बिक्री वितरण गर्ने कम्पनीहरु समस्यामा परेका छन् । पुरानो स्टकमा रहेका कम्पनीहरुको बिक्री वितरणमा खासै समस्या नभएपनि नयाँ मोटर साइकल ल्याएर बेच्नुपर्ने कम्पनीहरुलाई भने ठूलो समस्या भएको छ । 

‘सरकारले समयमा निर्णय नगर्दा दशैंको मुखमा ब्यवसाय गर्न कठिन भएको छ । हामीले सम्बन्धीत सरोकारवाला निकायमा कुरा गरेका छौं । सम्भवत आइतबारको क्याविनेट बैंठकले निर्णय गर्छ होला भन्ने आशा गरेका छौं’ नाडाका दुईपाङ्ग्रे सवारीसाधन कमिटिका सभापति अभिक ज्योतिले मेरोअटोसँग भने । 

यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण उपाध्यायले यातायात व्यवस्था नियमावलीमा २ डिजिटसम्म मात्रै लट नम्बर राखेर मोटरसाइकल दर्ता गर्न पाइने व्यवस्था रहेकाले त्यसको संशोधनकालागि विभागले १ महिना अगाडि नै पठाएकाे जानकारी दिए । 

‘अहिले ब्यवसायीहरुले अतिरिक्त खर्च लगाएर नारायणीमा दर्ता गरेर बाइक काठमाडौं ल्याएर बिक्री गरिरहेका छन्’ एक दुईपाङ्ग्रे सवारीसाधन बिक्रेता ब्यवसायीले भने । 

उनका अनुसार यसरी नारायणीमा दर्ता गरेका दुईपाङ्ग्रे सवारीसाधन पछि बागमतीकै नम्बर प्लेट दिनेगरी ग्राहकलाई कन्भिन्स गर्दै बिक्री गर्नुपरेको छ । 

दशैंको समयमा धेरै बाइक तथा स्कुटर बिक्री हुने तर, दर्तानै गर्न नपाउँदा र नारायणीमा गर्दा गरी पछि ठाउँसारी समेत आफैँले गरिदिनु परेकाले थप भार कम्पनीहरु माथि परेको छ ।   

बाग्मतीमा दर्ता भइसकेका मोटरसाइकलको संख्या १० लाख पुगेको छ । कानुनले नयाँ दर्ता गर्न नदिने अवस्था आएपछि बुधबारबाट दर्ता बन्द भएको हो । 

मन्त्री परिषदको बैंठकमा तीन डिजिटमा लट नम्बर राखेर सवारी दर्ता गर्न सकिने गरी नियमावली संशोधन गर्न प्रस्ताव गरिएको छ । आइतबारको मन्त्री परिषद बैंठकमा यसलाई पेश गर्ने तयारी भइरहेको छ । बैठकले उक्त प्रस्तावलाई स्विकृत गरेमा सोमबारबाट दर्ता खुल्ने छ । 


Back_to_top