काठमाडौं । अल्ट्राभोइलेटले भारतीय बजारमा नयाँ मोटरसाइकल एफ ७७ सुपरस्ट्रीट सार्वजनिक भएको छ । कम्पनीले १ फब्रुअरी २०२५ देखि बुकिङ लिन सुरू गरेको हो ।
कम्पनीले यो मोटरसाइकलको डेलिभरी मार्चदेखि सुरू गर्ने जानकारी दिएको छ । प्रिमियम इलेक्ट्रीक मोटरसाइकल निर्माता स्टार्टअप कम्पनी अल्ट्राभोइलेट एफ ७७ सुपरस्ट्रीटको मूल्य ३ लाख भारतीय रुपैयाँ (एक्स सोरुम) तोकेर सार्वजनिक गरेको हो ।
कम्पनीले अल्ट्राभोइलेट एफ ७७ लाई अपग्रेड गर्दै ल्याएको एफ ७७ सुपरस्ट्रीटमा सिंगल पिस ह्याण्डलबार दिएको छ । एफ ७७ मा क्लिपअन ह्याण्डलबार दिइएको थियो । यसमा कम्पनीले ह्याण्डलबार राइजरसमेत दिएको छ । यसले मोटरसाइकलको राइडिङ पोस्चर अपराइड पोजिसनमा रहने छ ।
सुपरस्ट्रीटको स्ट्याण्डर्ड भेरियन्टले ३६ बीएच पावरका साथै ९० एनएम टर्क जेनेरेट गर्छ । यो मोटरसाइकलले ०-६० को स्पीड मात्र २.९ सेकेन्डमा भेट्छ । यसको रिकन भेरियन्टले भने, ०-६० को स्पीड २.८ सेकेन्डमा भेट्छ । यसले ४० बीएच पावर र १०० एनएम टर्क जेनेरेट गर्छ । यो मोटरसाइकलमा तीन राइड मोड उपलब्ध छ । यसको टप स्पीड १५५ किलोमिटर प्रतिघन्टा रहने छ ।
कम्पनीले एफ ७७ सुपरस्ट्रीटको स्ट्याण्र्डड भेरियन्टमा ७.१ किलोवाट आवर क्षमताको ब्याट्री दिएको छ । यसले एक पटकको फुलचार्जमा २११ किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । यसको रिकन भेरियन्टमा भएको १०.३ किलोवाट आवर क्षमताको ब्याट्रीले ३२३ किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।
यो मोटरसाइकलमा कम्पनीले एआई फिचरसमेत उपलब्ध रहेको जनाएको छ । यसका अलावा ३ लेभल ट्रयाक्सन कन्ट्रोल, १० लेभल रिजेनेरेटिभ ब्रेकिङ सिस्टम दिएको छ ।
अल्ट्राभोइलेट नेपाली बजारमा केडिया इन्टरनेशनलले बिक्री गर्दै आएको छ । अल्ट्राभोइलेट एफ ७७ को मूल्य ९ लाख ९९ हजार रुपैयाँ छ ।

