इलेक्ट्रीक दुई पाङ्ग्रे किन्दा ठगिनु होला, यी ६ कुरा बुझेर मात्रै किन्नुहोस्

काठमाडौं । विद्युतीय कारको चर्चा र बजार हिस्सा बढिरहँदा दुई पाङ्ग्रेको आयात अधिकांश ब्राण्डको ठप्प छ । अघिल्लो आर्थिक वर्षको ६ महिनामा संख्यात्मक हिसावले ५ हजार १३३ यूनिट विद्युतीय स्कुटर र मोटरसाइकल आयात भएको थियो । तर, आर्थिक वर्ष सकिदा यस्ता साधनको आयात ७ हजार १५५ यूनिट पुगेको छ ।

सुरुको ६ महिनामा ५ हजार यूनिट माथि आयात भएपनि पछिल्लो ६ महिनामा २ हजार २२ यूनिट मात्रै आयात भएको देखिन्छ । त्यसमा पनि चल्तीका केही ब्राण्ड छाडेर अधिकांशले ल्याएका ईभी बिक्री भएका छैनन् ।

अहिले बजारमा उपलब्ध ब्राण्ड मध्ये सेगवे सबैभन्दा राम्रो संख्यामा इलेक्ट्रीक स्कुटर बिक्री गर्ने कम्पनी बनेको छ । त्यसैगरी एनआईयू, याडिया, सुपर शोको, टेलजी जस्ता सफल ब्राण्डले बिक्री तथा विक्री पछिको सेवा दिदै आएको छन् ।

तर, डिलर सिप लिने र सवारीसाधन बिक्रेता बन्ने चक्करमा धेरै स्टार्टअप कम्पनीका उत्पादनले नेपाल दुई पाङ्ग्रे विद्युतीय साधनको डम्पिङ साइट बन्ने खतरा बढ्दै गएको छ ।

अहिले नेपालमा करिब ४ दर्जन ब्राण्डका विद्युतीय स्कुटर र मोटरसाइकल उपलब्ध छन् । त्यसमा अधिकांश स्टार्टअप कम्पनीका उत्पादन नेपाली बजारमा असफल भइसकेका छन् ।

कोकिनवा, इडंकी, गुवाङडोङ, गेमोपाइ, एरोमा, आहान, लेभलिङ, एक्सरभल, मिकु, आइमा, एम्पियर, पावरहक्स, ओकाया, दोहान, हर्विन, बिनिङ, हिरो जस्ता ब्राण्डले विगत ६ महिनामा एक यूनिट पनि मोटरसाइकल तथा स्कुटर नेपाल ल्याएका छैनन् ।

यसका अलावा रेमोटो, लिफान, ल्यूवान, इकुटर, इकोबीट, ग्रन्थ, स्लेन,जम्वाे, कोमाकी, प्योर ईभीले केही यूनिट स्कुटर ल्याएपनि धेरै कम्पनीले आफ्नो सर्भिस र बिक्री केन्द्र बिस्तार गर्न सकेका छैनन् ।

त्यसैले ग्राहकले विद्युतीय स्कुटर तथा मोटरसाइकल किन्दा निम्न कुरामा ध्यान दिन जरुरी देखिएको छ । अन्यथा तपाईले दुःख गरेर कमाएको रकम विद्युतीय दुई पाङ्ग्रे साधन किन्ने नाममा बेकार बन्न सक्छ ।

१. शोरुमः यदि तपाई विद्युतीय दुई पाङ्ग्रे साधन किन्न जानुभयो र बिक्रेताले गोदाममा लगेर तपाईलाई आफ्नो साधन देखायो भने त्यसको साधन किन्दै नकिन्नुहोस् । उसले भोलिका दिनमा थप सवारीसाधन ल्याएर बिक्री गर्न सक्छु भन्ने विश्वास नभएकै कारण शोरुम बीना नै बिक्री सुरु गरेको हुन्छ ।

यदि, ब्यवस्थित शोरुम संचालनमा छन् र त्यो कम्पनी ब्यवसायीक रुपले चलेको छ, जस्तो लागेको खण्डमा मात्रै तपाई खरिदको लागि अगाडि बढ्नुस् ।

२. सर्भिस सेन्टरः शोरुम ठिकठक छ । उसका उत्पादन ठिक छन् भन्ने लाग्छ भने उसको सर्भिस योजनाको बारेमा सोधखोज गर्नुहोस् । सर्भिस सेन्टर लगायतका विषयमा तपाईले चित्त बुझ्दो जवाफ पाउनु भयो भने एक कदम अगाडि बढ्नुस् ।

तपाईले लिन खोजेको मोडलको टेष्ट ड्राइभ गर्नुहोस् । सकभर नेपालको बाटो अनुसार पहाडी र काठमाडौं उपत्यकाको हकमा पनि सानो मोटर भएको स्कुटर किन्दै नकिन्नु होला । मोटरसाइकल र स्कुटरको बारेमा राम्रोसँग जानकारी लिनुहोस् ।

३. आवश्यक पार्टस्को उपलब्धताः तपाईलाई उसले बिक्री गर्ने उत्पादन चित्त बुझेको खण्डमा पार्टस्को उपलब्धता सुनिश्चित गर्नुहोस् । ब्याट्री, मोटर र ब्याट्री मेनेजमेन्ट सिस्टमसँग जोडिने पार्टस्को उपलब्धता सुनिश्चित नभए तपाईलाई मन परेको भएपनि त्यस्ता साधन किनेर जोखिम नउठाउँदा राम्रो हुन्छ ।

४. ब्राण्डको हिस्ट्रीः ब्राण्ड नेमले बजारमा धेरै कुरा फरक पार्छ । त्यसमा विद्युतीय स्कुटर राम्रो ब्राण्डको परेन भने यसमा जडान भएका ब्याट्री बममा परिणत हुन समय लाग्दैन । त्यसैले स्कुटर वा मोटरसाइकल खरिद गर्नुअघि ब्राण्डको बारेमा इन्टरनेटमा सर्च गर्नुहोस् ।

५. आयातकर्ताको तयारीः बिक्रेताले भोलिका दिनमा उक्त ब्राण्डलाई कसरी अगाडि बढाउने योजना बनाएको छ, त्यो थाहापाउनु फाइदाजनक हुन्छ । यदि उसको भाबी योजना तपाईलाई चित्त बुझेको खण्डमा केही जोखीम लिन सकिन्छ ।

६. ब्याट्री र मूल्यः विद्युतीय स्कुटर तथा मोटरसाइकल आवश्यकता भन्दा धेरै मार्जिन राखेर बिक्री हुँदै आएका छन् । त्यसैले तपाईले हेरेको प्रोडक्ट अन्य बजारमा कति मूल्यमा बिक्री भइरहेका छन् बुझ्न जरुरी हुन्छ ।

त्यसैगरी तपाईले किन्ने साधनमा कुन साइज र कुन टेक्नोलोजीको ब्याट्री प्रयोग भएको छ भन्ने जान्नु पर्छ । यी कुरा थाहापाएर तपाईले इलेक्ट्रीक स्कुटर खरिद गर्नु भयो भने पछि नोक्सानी ब्योहोर्नु पर्दैन ।


Back_to_top