काठमाडौं । अधिकांश १५० सीसी क्षमताका मोटरसाइकलको मूल्य निरन्तर बढ्दो क्रममा रहेको छ । यद्यपी होन्डाले यूनिकर्न १५० मोटरसाइकलको मूल्य भने खासै वृद्धि गरेको छैन ।
बजाजले पल्सर १५० को मूल्य २ लाख ६३ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री गर्दै आएको छ भने होन्डा यूनिकर्न १५० को मूल्यपनि समान २ लाख ६३ हजार ९०० रुपैयाँ नै रहेको छ ।
बजाजले पल्सर १५० को दुई फरक भेरियन्ट विक्री गर्दै आएको छ । जसमा पल्सर १५० र पल्सर १५० ट्वीन डिस्क छन् ।
होन्डा यूनिकर्नमा १४९.२ सीसी क्षमताको सिंगल सिलिण्डर इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ८००० आरपीएममा १२.७३ बीएच पावर प्रदान गर्छ भने ५५०० आरपीएममा १२.८ एनएम टर्क प्रदान गर्छ ।

बजाज पल्सरमा १४९ सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले १४ पीएस पावर र १३.४ एनएम टर्क प्रदान गर्छ ।
बजाज पल्सर १५० को लम्बाई २०५५ एमएम, चौडाई ७६५ एमएम र उचाई १११५ एमएम रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १६५ एमएम रहेको छ भने ह्वीलवेस १३४५ एमएम रहेको छ ।
होन्डा यूनिकर्नको लम्बाई २०९२ एमएम, चौडाई ७५६ एमएम र उचाई ११०० एमएम रहेको छ । यसमा १७९ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ भने ह्वील वेस १३३६ एमएमको रहेको छ ।

बजाज पल्सरमा यूनिकर्नको तुलनामा ठूलो फ्यूल ट्याङ्क दिइएको छ । पल्सरमा १५ लिटर पेट्रोल अट्ने छ भने यूनिकर्नमा १३ लिटरको ट्याङ्क दिइएको छ । भारतीय अटोमोटिभ रिसर्च एजेन्सी (एआरएआई)का अनुसार बजाज पल्सरले प्रतिलिटर ६५ किलोमिटर माइलेज दिन्छ भने होन्डा यूनिकर्नले ६० किलोमिटर माइलेज दिने प्रमाणित गरेको छ ।
तर, दुबै मोटरसाइकलको सडकमा चलाउँदा भने ५० किलोमिटर हाराहारीमा माइलेज आउने छ । बजाज पल्सर १५० नेपालमा अहिले सर्वाधिक विक्री हुने मोटरसाइकल हो भने होन्डा यूनिकर्न कुनै समय सर्वाधिक विक्री हुने मोडलमा पथ्र्यो ।


