काठमाडौं । कार बिक्रेता कम्पनीहरुले लकडाउन खुकुलो भएसँगै नयाँ मोडलका गाडी ल्याउन सुरु गरेका छन् । नेपालका आधिकारीक बिक्रेता कम्पनीहरुले भारतमा यसअघि नै बिक्री सुरु भएका नयाँ मोडलहरु नेपाल ल्याउन सुरु गरेका हुन् ।
अहिले टाटा, मारुती सुजुकी, हुन्डाई, रेनो,जीप जस्ता ब्राण्डले नयाँ गाडी ल्याउन ल्याउने प्रक्रिया सुरु गरेका छन् भने त्यसबाहेक नयाँ ब्राण्डको रुपमा विश्व चर्चित ब्राण्ड बिएमडब्ल्यूका गाडी नेपाल आएका छन् । सबै कम्पनीले करिब एक दर्जन नयाँ मोडलका कार नेपाल ल्याउने छन् ।
यी बाहेकपनि निसान, डाट्सन, महिन्द्रा जस्ता ब्राण्डले पनि नयाँ गाडी ल्याउने प्रक्रिया अघि बढाएका छन् ।
बिएमडब्ल्यूका नयाँ गाडी ‘बिएमडब्ल्यू सेभेन सिरिज र एक्स सिरिज’का गाडी नेपाल आएका छन् । यसलाई कम्पनीले केही दिनपछि नेपालमा बिक्री सुरु गर्ने जनाएको छ । बिएमडब्ल्यूका गाडी लक्ष्मी प्रिमियमले नेपाली बजारमा ल्याएको हो ।
मारुती सुजुकीको आधिकारीक बिक्रेता सिजी मोटोकर्पले नयाँ इन्जिन सहितको ब्रेजा नेपाल ल्याउने भएको छ । अहिले भन्सारमा आइसकेको पेट्रोल इन्जिनयुक्त ब्रेजा अबको केही दिनपछि काठमाडौं आउने छ ।
यसअघि डिजेल इन्जिनमा आएको ब्रेजा अब भने पेट्रोल इन्जिनमा मात्रै आउने छ । कम्पनीले यसमा १.५ लिटर के१५बी इन्जिन दिएको छ । उक्त इन्जिनले १०३ बीएच पावर प्रदान गर्ने छ ।
सिप्रदी ट्रेडिङले प्रिमियम ह्याचव्याक कार अल्ट्रोज नेपालमा सार्वजनिक गर्ने भएको छ । केही दिनपछि नै बिक्री सुरु गर्ने तयारी भइरहेको अल्ट्रोज विभिन्न तीन भेरियन्टमा नेपाल आउने छ । यसमा कम्पनीले १.२ लिटर टर्बो पेट्रोल इन्जिन दिएको छ । उक्त इन्जिनले ८५ बीएच पावर प्रदान गर्ने छ ।
त्यसैगरि हुन्डाईले अबको केही महिना भित्र तीन नयाँ कार नेपाल ल्याउने भएको छ । आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्सका अनुसार कम्पनीले ग्राण्ड आई १० नियोस, अउरा र नयाँ जेनेरेशन क्रेटा ल्याउने छ ।
यी कारमा नियोस ह्याचव्याक कार हो भने अउरा सेडान कार हो । साथै, चर्चित मोडल क्रेटा एसयूभी हो । हुन्डाई अउरा र नियोसमा १.२ लिटर इन्जिन दिइएको छ भने क्रेटामा १.५ लिटर क्षमताको इन्जिन दिइएको छ ।
रेनोले नेपाल ल्याउन लागेको क्वीड र डस्टर भने फेसलिफ्ट मोडल हुन् । यी दुई मोडललाई रेनोले २०१९ को बीचमा नै फेसलिफ्ट ल्याएको थियो । ती कारहरु नेपाल आउने तयारीमा रहेका छन् । एड्भान्स अटोमोवाइलका अनुसार अबको केही दिनमा यी दुबै गाडी नेपाल आउने छन् ।
जीपले नेपाल बजारमा र्याङलर र ग्राण्ड चेरोकी नेपाल ल्याएको छ । बिरगंज भन्सारबाट यी गाडी नेपाल भित्रीएको भएपनि अहिले लकडाउनका कारण काठमाडौं आइपुगेको छैन ।
लाइफ अटोमोवाइलका अनुसार यी गाडी लकडाउनका कारण भन्सार क्लियरेन्स भएर बसेका छन् । अबको केही दिनपछि नै यी गाडी काठमाडौं आउने छन् ।
त्यसैगरि निसान किक्स नयाँ इन्जिनमा र डाट्सन रेडी गो फेसलिफ्ट पनि नेपाली बजारमा केही महिना भित्रै आउने आयातकर्ता कम्पनीले जनाएको छ ।


