होन्डा, यामाहा र बजाजले नेपाल ल्याउँदै नयाँ मोडल

काठमाडौं । चाडपर्व सुरु भएसँगै विभिन्न सवारी साधन आयातकर्ता कम्पनीले नयाँ मोडलका मोटरसाइकल बजारमा ल्याउन पहल गर्ने छन् । विगतमा दशैंअघि ‘नाडा अटो शो’ आयोजना हुने र त्यहि नयाँ सवारी साधन सार्वजनिक गर्ने गरिएको थियो ।

कोभिड १९ को कारण अघिल्लो वर्षदेखि नाडा अटो शो आयोजना हुन सकेको छैन । यस्तोमा आयातकर्ता कम्पनीले सवारी साधन नेपाल ल्याएर विक्री सुरु गर्ने गरेका छन् ।

दशैंअघि होन्डाले प्रिमियम मोटरसाइकल सिबी ३५० आरएस बजारमा ल्याउने जनाएको छ । त्यसैगरी यामाहाले एफजेड एक्स र बजाजले पल्सर एनएस १२५ नेपाल ल्याउने प्रयास गरिरहेको बुझिएको छ ।

यी तीनवटा मोटरसाइकलमा सबैभन्दा कम मूल्यमा बजाज पल्सर एनएस १२५ आउने छ भने सबैभन्दा महंगो होन्डा सिबी ३५० आरएस हुनेछ ।

होन्डा सिबी ३५० आरएस

होन्डाको रेट्रो डिजाइन सिबी ३५० आरएस स्याकार ट्रेडिङले नेपाल ल्याउने भएको हो । सिबी ३५० आरएस मोर्डन डिजाइनमा आएको रेट्रो क्लासीक मोटरसाइकल हो । यो मोटरसाइकलमा सिबी ३५० हाइनेसका अधिकांश फिचर प्रयोग भएको छ ।

यसमा ३४८ सीसी सिंगल सिलिन्डर, एयरकुल्ड, एफआई इन्जिन रहेको छ । यो इन्जिनले ५५०० आरपीएममा अधिकतम २०.८ बीएच पावर तथा ३००० आरपीएममा अधिकतम ३० एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियर बक्सका साथै मल्टिप्लेट वेट क्लच उपलब्ध रहेको छ । यस मोटरसाइकलमा १६८ एमएमको ग्राउन्ड क्लियरेन्स छ ।

त्यसैगरी यो मोटरसाइकलमा हाल्फ डुप्लेक्स कार्डल फ्रेमको प्रयोग गरिएको छ भने, अगाडि टेलिस्कोपिक र पछाडि ट्वीन हाइड्रोलिक सस्पेन्सन दिइएको छ । यसमा १९ इन्चको फराकिलो टायर र दुबै चक्कामा डिस्क ब्रेक पाउन सकिन्छ ।

सिबी ३५० आरएसमा सबै किसिमका लाइट एलइडी प्रयोग भएको छ । सेमी डिजिटल कन्सोल, ब्लुटुथ कनेक्ट फिचर, असिस्ट सिल्पर क्लच, डबल च्यानल एबीएस, स्मार्टफोन भ्वाइस कन्ट्रोल, साइड स्ट्यान्ड सेन्सर, ड्यूल टोन पेन्ट, हार्जाड लाइट जस्ता फिचरले मोटरसाइकललाई उत्कृष्ट बनाएको छ । नेपाली बजारमा यसको मूल्य ८ लाख हारहारी पर्ने अनुमान गर्न सकिन्छ ।

यामाहा एफजेड एक्स

यामाहाले केही समयअघि भारतबाट विक्री सुरु गरेको एफजेड एक्स पनि नेपाल आउने तयारीमा रहेको छ । एमएडब्लू इन्टरप्राइजेजले नेपाल ल्याउने यो मोटरसाइकल रेट्रो डिजाइनमा उपलब्ध रहने छ ।

एफजेड एक्स यामाहाको चर्चित मोटरसाइकल एफजेडएस भी ३मा आधारित रेट्रो डिजाइन मोटरसाइकल हो । यसमा वल्र्ड स्कुल राउण्ड सेप एलइडी हेड ल्याम्प दिइएको छ । त्यस्तै यसमा नयाँ टेक्नोलोजि आधारित धेरै फिचर रहेको छ ।

कम्पनीले यसमा ब्रान्ड न्यू अल डिजिटल कन्सोल दिएको छ । सिंगल च्यानल एबीएस, अगाडि कन्भेन्सनल टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्सन, ब्लुटुथ कनेक्टिभिटी, दुबै चक्कामा डिस्क ब्रेक जस्ता फिचर पाउन सक्ने छन् ।

यसमा १४९ सीसी क्षमताको एफआई इन्जिन यसमा रहने छ । उक्त इन्जिनले ७२५० आरपीएममा अधिकतम १२.४ पीएस पावर र ५५०० आरपीएममा १३.३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स रहेको छ ।

नेपालमा यसको मूल्य एफजेडएस भी थ्रीभन्दा केही महंगो हुनेछ ।

बजाज पल्सर एनएस १२५

भारतमा केही महिनाअघि विक्री सुरु भएको बजाज पल्सर एनएस १२५ नेपाल आउने हल्ला भएपनि आधिकारीक वितरक हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले यसको पुष्टि गरेको छैन । बजाज पल्सर एनएस १२५ यसअघि विक्री हुँदै आएको एनएस १६० सीसीभन्दा कम मूल्यमा उपलब्ध हुने इन्ट्री लेवल मोडल हो ।

‘अहिले हामी बजार सर्भेमा छौं । तत्काल ल्याउने योजना छैन । तर, सर्भेले उपयुक्त देखाए केही समयपछि नेपाल आउने छ’, एचएच बजाज स्रोतले एक महिनाअघि मेरोअटोसँग भनेको थियो । संभवत यो मोटरसाइकल दशैंअघि नै नेपाल आउने छ ।

पल्सर एनएस १२५ को डिजाइन हुवहु एनएस १६० जस्तै रहेको छ । यसमा प्रयोग भएको सिग्नेचर हेडल्याम्प, एलइडी टेल लाइट, निकै आकर्षक इन्धन ट्याङ्की, पाइलट ल्याम्प जस्ता फिचरले गाडीलाई आकर्षक बनाएको छ ।

पल्सर एनएस १२५ मा १२४.४५ सीसी क्षमताको सिंगल सिलिण्डर, एयरकुल्ड इन्जिन प्रयोग भएको छ । यसमा रहेको इन्जिनले अधिकतम १२ पीएस पावर र ११ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स प्रयोग गरिएको छ ।

सेमी डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, हेलोजीन हेडल्याम्प, बल्ब इन्डिकेटर, पाइलोट ल्याम्प, सिबीएस ब्रेकिङ सिस्टम रहेको पल्सर एनएस १२५ लाई पेरिमिटर फ्रेममा तयार गरेको हो । यसको कुल तौल १४४ किलोग्राम रहेको छ । अगाडि टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्सन पाउन सकिन्छ ।

नेपाली बजारमा यसको मूल्य २ लाख ६० हजार हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top