चाँडै बिक्री सुरु हुँदै तीन एसयूभी, मूल्य ३५ लाखबाटै सुरु

काठमाडौं । नेपाली बजारमा नयाँ कार बिक्री सुरु हुने क्रम बढेको छ । सन् २०२४ को सुरुवातसँगै नयाँ नयाँ मोडल नेपाल आउन थालेको हो ।

फेब्रुअरी महिनासम्ममा विभिन्न कम्पनीका तीन एसयूभीको बिक्री सुरु हुन लागेको छ । विशेषगरी हुन्डाई, चेरी र चांगनले नयाँ मोडलको बिक्री सुरु गर्न लागेका हुन् ।

हुन्डाईले आफ्नो सर्वाधिक सानो एसयूभी एक्सटर, चांगनले प्रिमियम इलेक्ट्रीक मोडल दिपल एस-७ र चेरीले ओमोडा ई-५ बिक्री सुरु गर्न लागेको हो । यी दुई मोडल मध्ये हुन्डाई एक्सटर पेट्रोल इन्जिनमा आउँछ भने अन्य दुई मोडल इलेक्ट्रीक हुन् ।

बढ्दो विद्युतीय कार सेग्मेन्टमा आउन लागेका यी दुबै मोडलले कस्तो ब्यापार गर्छ अहिल्यै भन्न सकिन अवस्था छैन । तर, पेट्रोल कार खोज्नेको लागि एक्सटर एक उपयोगी मोडल बन्न सक्छ ।

भारतको कार अफ दी इयर २०२४ अवार्ड जित्न सफल एक्सटरको सुरुवाती मूल्य ३५ लाख हाराहारी हुने अनुमान गरिएको छ । १.२ लिटर इन्जिनमा उपलब्ध हुने एक्सटर सुरक्षा फिचरको कारण भारतमा निकै चर्चा पाएको मोडल हो ।

चेरीको ओमोडा अन्तर्राष्ट्रिय बजारमा भर्खरै मात्र प्रबेश गर्न थालेको मोडल हो । करिब ६० देखि ६५ लाख भित्र रहेर बजारमा आउने अनुमान गरिएको ई-५ मा प्रिमियम फिचरहरु छन् ।

दिपल एस-७ चिनियाँ बजारमा टेस्ला मोडल वाईसँग सिधा प्रतिस्पर्धा गरिरहेको मोडल हो । यसले नेपाली बजारमा छुट्टै सेग्मेन्ट बनाउने सहजै अनुमान गर्न सकिन्छ । यसको मूल्य ७० लाखदेखि ८० लाख भित्र रहने छ ।


Back_to_top