कसरी बढाउन सकिन्छ जाडोमा ईभीको रेन्ज ? यी हुन् ३ तरिका

काठमाडौं । अहिले जाडो मौसम छ । जाडो मौसमलाई विद्युतीय कारको लागि राम्रो समय मानिदैन । विद्युतीय गाडीले एसीको तुलनामा हिटर चलाउँदा बढी इनर्जी खपत गर्ने भएको कारण जाडो महिना ईभीको लागि राम्रो नमानिएको हो ।

पेट्रोल कारले इन्धन भर्न लाग्ने समयको तुलनामा ईभीहरु चार्ज गर्न धेरै समय लाग्ने भएको कारण ब्यस्त दैनिकी रहने मानिसलाई विद्युतीय गाडीको चार्ज सकभर नघटोस् भन्ने लाग्छ । त्यसैले चार्ज बचाउने टिप्स सबैलाई काम लाग्नसक्छ ।

ईभी सम्बन्धी अध्ययन र अनुषन्धान अहिले विश्वभर चलिरहेकै छ । यस्तै एक अध्ययनले विद्युतीय गाडीमा रेन्ज अन्य मौसमको तुलनामा चिसोमा १५ देखि २० प्रतिशतसम्म कम पाइने देखाएको हो ।

कम रेन्ज आउनुको प्रमुख कारण हाइ भोल्टेज ब्याट्रीको इफिसेन्सी नै घट्नु प्रमुख कारण हो । साथै, चिसोमा प्रयोग हुने इक्यूपमेन्टको कारण पनि इनर्जी खपत धेरै हुन्छ ।

चार्ज गर्दा नै क्याविन तातो बनाउनु उपयुक्त

जुनसुकै कार पार्किङमा राख्दा जाडो महिनामा निकै चिसो हुन्छ । त्यसैले तपाई गाडी चार्जमा राखेरै हिटर चलाउनु भएको खण्डमा पछि हिटर चलाउनु पर्ने अवस्थाबाट मुक्त हुन सक्नु हुन्छ ।

घरमा चार्जिङमा नै रहेको समयमा हिटर चलाउने हो भने, ब्याट्रीमा रहेको चार्ज खर्च हुदैन । यो प्रक्रिया समान्य लाग्छ, तर इनर्जी वचत गर्न निकै सहयोग पुग्छ ।

सधैं ईको मोडमा चलाउने

गाडीले धेरै रेन्ज दिन सकोस् भनेर विभिन्न ड्राइभिङ मोड दिइएको हुन्छ । ईको मोडमा गाडी विस्तारै चल्छ । तर, इनर्जी बचतको लागि निकै फाइदा पुग्छ । ईभी जति धेरै छिटो दौडाउँछौं, त्यति नै धेरै चार्ज घट्ने हो । त्यसैले ईको मोड र विस्तारै गाडी चलाउनु चार्ज बचाउन उपयोगी हुन्छ ।

चिसो मौसममा ईको मोडमा विस्तारै चलाउँदा कुहिरो लागेको वा चिसो÷चिप्लो बाटोमा हुन सक्ने दुर्घटनाबाट समेत बच्न सकिन्छ । त्यसैले चिसो मौसममा सधैँ ईको मोडमा चलाउँदा उत्कृष्ट रेन्ज पाउन सकिन्छ ।

उपयुक्त टायर प्रेसर

टायरमा हुने एयर प्रेसरले ईभी वा आइसीई सबैखाले गाडीको माइलेजलाई असर गर्छ । चिसो मौसममा ईभीको रेन्ज टायर प्रेसरको पनि ठूलो भूमिका हुन्छ । प्रायः चिसोे मौसममा टायरको एयर प्रेशर आफै घट्ने गर्छ । त्यसैले वेलावेला मिलाउनु पर्छ ।

आजकलका आधुनिक ईभीमा इन्ट्रुमेन्ट क्लस्टरमै टायर प्रेसर देखाउने भएकोले कम हुनासाथ हावा मिलाई हाल्नु पर्छ ।

यसका अलावा तपाई कार्यालय निस्कनु १÷२ घण्टा अगाडिनै आफ्नो ईभीलाई सिधा घाम पर्ने स्थानमा पार्किङ गरेमा पनि ईभीको क्याविन नेचुरल तरिकाले नै तताउन सकिन्छ ।


Back_to_top