कुन ब्राण्डले कति मोडलका ईभी नेपाल ल्याउँदै छन् ?

काठमाडौं । सन् २०२३ बाटै ‘मेन स्ट्रीम’ बनेको विद्युतीय कार नेपाल ल्याउन तीव्र प्रतिस्पर्धा सुरू भएको छ । नेपाल राष्ट्र बैंकले ‘लोन टु भ्यालु रेसियो’ परिवर्तन गरेसँगै केही सुस्ताएको विद्युतीय कार बजारमा प्रतिस्पर्धा निकै कडा हुने देखिएको हो ।

सन् २०२५ मा करिब ३ दर्जन कार मोडल नेपाल आउने अनुमान गरिएको छ । जसमा करिब १५ ब्राण्डले ३६ भन्दा धेरै मोडल नेपाल ल्याउन लागेका हुन् । अहिले विद्युतीय कार बजारको अग्रणी स्थानमा रहेको बीवाइडीले सन् २०२५ मा ३ देखि ४ मोडल बजारमा ल्याउने अनुमान गरिएको छ ।

बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले सिलायन-७, एटो-२, सिगल ह्याचब्याक र हाइब्रिड मोडल सार्क पीकअप नेपाली बजारमा ल्याउने अनुमान गरिएको छ । कुन मोडल कुन मितिमा आइपुग्छ भन्ने एकिन जानकारी नआए पनि सबैभन्दा पहिलो सिलायन-७ को बिक्री सुरू हुने चर्चा भइरहेको छ ।

बीवाइडीपछि थप मोडल ल्याउनेमा हुन्डाई रहेको छ । हुन्डाईले आयोनिक-५ पछि नयाँ ईभी मोडल बजारमा ल्याएको छैन । कम्पनीले सन् २०२५ मा क्रेटा ईभीसँगै नयाँ जेनेरेशन कोना, इन्स्टर ईभी र आयोनिक-९ ल्याउने अनुमान गरिएको छ ।

अर्को चिनियाँ जाइन्ट चेरीको इलेक्ट्रीक ब्राण्ड ओमोडा/जेको ब्राण्डमा पनि तीन मोडल आउन सक्नेछ । कम्पनीले घोषणा गरेको जेको जे-५ र जेको भी-२३ का अलावा फोर ह्वील ड्राइभ जे-६ पनि आउने छ । साथै, ओमोडामा पनि कुनै नयाँ मोडल आउन सक्ने कम्पनीले जनाएको छ ।

दीपल एस-०५, नामी-०६ र सेरेस आइटो एम-५ अल्ट्रा जस्ता मोडल एमएडब्लू वृद्धिले नेपाल ल्याउने छ ।

महिन्द्राको आधिकारिक बिक्रेता अग्नी इन्कर्पोरेट प्रालिले एक साथ दुई इलेक्ट्रीक एसयूभी नेपाल ल्याउने अनुमान गर्न सकिन्छ । कम्पनीको भारतमा बिक्री सुरू हुन लागेको बीई-६ र एक्सईभी-९ ई नेपाली बजारमा छिट्टै आउने छ ।

सुजुकीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले सुजुकी ई-भिटारा नेपाल ल्याउने छ । यसका अलावा रेनोको क्वीड ईभी, टाटाको ह्यारीयर र सफारी ईभी पनि सन् २०२५ मै नेपाल आउने छन् ।

साँग्रिला मोटर्सले लीपमोटरको बी-१० एसयूभी, जिकरको प्रिमियम एसयूभी, स्मार्टको ह्यासट्याग-१ र ह्यासट्याग-५, एवोन युटी ह्याचब्याक जस्ता मोडल पनि नेपाली बजारमा आउने छन् ।

यसका अलावा स्काई वेल, एलइभी जस्ता ब्राण्डले पनि साना कार ल्याउने जनाएका छन् । उसोत जीप, स्कोडा, फक्सवागेन, टोयोटा, निसान, होन्डा जस्ता ब्राण्डले पनि आफ्नो पहिलो इलेक्ट्रीक मोडल २०२५ बाटै नेपालमा बिक्री सुरू गर्ने योजना बनाएका छन् ।


Back_to_top