काठमाडैं । एसयूभीहरु कुपे डिजाइनमा आउन थालेको धेरै भयो । कियाले बिक्री गर्दै आएको स्पोर्टेजदेखि केही महिना अघि नेपाल आएको ओमोडा ई–फाइभसम्म कुपे डिजाइनमा तयार भएका एसयूभी हुन् ।
भारतमा कार उत्पादन गर्नेहरुले पनि कुपे डिजाइनलाई विशेष प्राथमिकतामा राखेर मोडलहरु तयार गर्दैछन् । पछाडि स्लोपी रुफ भएका कारहरुलाई कुपे डिजाइन भनेर सम्बोधन गरिन्छ ।
भारतीय उत्पादक टाटादेखि महिन्द्रासम्मले छिट्टै कुपे डिजाइनका एसयूभीहरु बजारमा ल्याउन लागेका हुन् । यी कम्पनीले ल्याउने कुपे एसयूभी पेट्रोल र इलेक्ट्रीक दुबै हुनेछन् ।
भारतमा महिन्द्राले एक्सयूभी ई-९ र बीई-०५ मोडल कुपे डिजाइनमा ल्याउन लागेको हो । महिन्द्राका दुबै एसयूभी इलेक्ट्रीक हुने छन् । त्यस्तै, टाटा मोेटर्सले कर्भ नामको कुपे ईभी ल्याउने छ । यहि सेप्टेम्बर महिनामा यसलाई बजारमा ल्याउने तयारी टाटाले गरिरहेको समाचारहरु बाहिर आएका छन् ।
अर्को, फ्रेन्च अटोमोवाइल कम्पनी रेनोले पनि भारतीय बजारका लागि बसाल्ट नामको कुुपे डिजाइन एसयूभी ल्याउने भएको छ । कम्पनीले यसको प्रिमियर समेत गरेको छ ।
टाटा कर्भ
टाटाले भारत मोविलीटी ग्लोबल एक्स्पोमा कुपे एसयूभी कर्भ देखाएको थियो । सेप्टेम्बरबाट बजारमा आउने टाटा कर्भ ईभी र पेट्रोलियम पदार्थ दुबैबाट चल्नेगरी आउने छ ।

टाटा नेक्सनकै प्लेटफर्ममा बनेको कर्भ नेक्सनभन्दा लम्बाईमा ३१३ एमएम र ह्वीलवेसमा ६२ एमएमले लामो छ । यसको लन्च आगामी सेप्टेम्बरमा हुने भएको छ । कम्पनीले कर्भ ईभीको टेक्नीकल स्पेशीफिकेसन भने बाहिर ल्याएको छैन ।
महिन्द्रा एक्सयूभी ई-९
महिन्द्र्राको एक्सयूभी ई-९ अल इलेक्ट्रीक मोडल हो । गत महिना ई-९ को करिब करिब उत्पादन तयारी मोडल देखिएको थियो । यसको अगाडि फ्रन्ट फेसियामा प्रयोग भएको एलइडी लाइटबार, ट्रायाङगुलर हाउजीङ भएको भर्टिकल स्प्लीट हेडल्याम्प, कनेक्टेड एलइडी टेलल्याम्प र स्लोपी रुफ देखिएको थियो ।

यो ईभीको माथिल्लो भेरियन्टमा ८० किलोवाटको व्याट्री प्याक र अलह्वील ड्राइभका लागि डिउल मोटर सेटअप रहने अनुमान गरिएको छ ।
सिट्रोन बसाल्ट
भारतमा सिट्रोनको व्याजमा उत्पादन हुने बसाल्ट चौथो मोडल हो । गत मार्चमा डेव्यू भएको बसाल्ट एसयूभी कुपे यहि वर्ष भित्रै बजारमा आउने अनुमान गरिएको छ ।

सिट्रोन बसाल्टमा सीथ्री एयरक्रसमा जस्तै १.२ लिटरको टर्बो पेट्रोल इन्जिन रहने छ । म्यानुअल र अटोमेटीक दुबै गियरबक्स अप्सन रहने एसयूभी स्लोपी रुफलाइनसहित आकर्षक फिचर रहनेछन् ।
महिन्द्रा बीई-०५
महिन्द्राको ‘बर्न ईभी एसयूभी’ मध्य तेस्रो मोडल बीई-०५ हो । यसलाई महिन्द्राले एक्सयूभी ई-८ र एक्सयूभी ई-९ पछि मात्र बजारमा ल्याउने छ । महिन्द्राले ई-९ पछि दोस्रो कुपे एसयूभीको रुपमा बीई-०५ मोडल ल्याउने छ ।

यसको साइज एक्सयूभी ७०० को बेसमा बनेको एक्सयूभी ई-९ भन्दा सानो रहेको छ । तर, यो इभी एक्सयूभी ४०० भन्दा ठूलो साइजमा भएकाले यसको सिधा प्रतिस्पर्धा टाटाको कर्भ इभीसँग हुनेछ ।


