नेपाल आउँदै ४ नयाँ कार, मूल्य २५ बाटै सुरु

काठमाडौं । दशैं तिहार जस्ता ठूला चाडपर्व सकिएको छ । विभिन्न गाडी विक्रेता कम्पनीहरुले नयाँ मोडलहरु अंग्रेजी नयाँ वर्षको अवसर पारेर नेपाली बजारमा ल्याउने तयारी गरेका छन् । हुन्डाई, महिन्द्रा र मारुती सुजुकीले नयाँ मोडल बजारमा ल्याउने तयारी तिब्र बनाएका छन् । बजारमा आउने क्रममा रहेका नयाँ गाडीको मूल्य २५ लाखदेखि १ करोड २० लाखसम्म पर्ने अनुमान गर्न सकिन्छ ।

नयाँ वर्षको अवसरमा हुन्डाईले दुई नयाँ मोडल अल्काजार र आयोनिक ५ नेपालमा विक्री सुरु गर्ने तयारी गरेको छ । हुन्डाई आयोनिक ५ इलेक्ट्रीक क्रसओभर हो भने अल्काजार ७ सिट क्षमताको एसयूभी हो । यी दुबै गाडीको मूल्य ७० लाखदेखि ९० लाख रुपैयाँ भित्रै रहने अनुमान गरिएको छ ।

महिन्द्राले आफ्नो पछिल्लो एसयूभी एक्सयूभी ७०० पनि नेपालमा नयाँ वर्षअघि नै सार्वजनिक गर्ने अनुमान गरिएको छ । कम्पनीले भारतमा सार्वजनिक गरेसँगै निकै राम्रो बुकिङ पाइरहेको एक्सयूभी ७०० फिचर लोडेड एसयूभीको रुपमा नेपाल आउने छ ।

मारुती सुजुकीले केही दिन अघि भारतमा विक्री सुरु गरेको नयाँ जेनेरेशन सेलेरियो पनि चाँडै नेपाल आउने छ । डिसेम्बर अन्तिमसम्ममा नेपाल ल्याउनेगरी काम भइरहेको कम्पनी स्रोतको भनाई छ ।

हुन्डाई आयोनिक ५

विश्वभर उच्च माग रहेको हुन्डाई आयोनिक ५ नेपाली बजार आउने पक्का भइसकेको छ । फ्यूचरीस्टीक डिजाइन, एक्टेरियरमा प्रयोग गरिएको क्लीन र सार्प लाइनले यो क्रसओभरलाई स्लीक र प्रिमियम लुक्स दिएको छ । यसलाई नेपालमा ८० देखि ८५ लाख भित्रै ग्राहकले खरिद गर्न सक्नेछन् ।

रेक्ट्याङ्गुलर आकारमा पिक्सेल लाइट डिजाइनको हेडल्याम्प, आकर्षक एलइडी डिआरएल, ‘पारामेट्रिक डाइनामिक डिजाइन ल्याङ्वेज’, टाइट सटलाईन, फ्लस डोर ह्याण्डल जस्ता फिचरले यसको बाहिरी बनोट निकै उत्कृष्ट रहेको छ ।

आयोनिक ५ को एक्टेरियर जति आकर्षक छ, यसको इन्टेरियर क्याविन पनि त्यस्तै फ्यूचरिस्टीक रहेको छ । यसको क्याविन लिभिङ स्पेश थिममा बनेको छ । सेन्टर कन्सोल मुभेवल रहेको छ । यो प्रविधिलाई हुन्डाईले यूनिभर्सल आइल्याण्ड नाम दिएको छ ।

हुन्डाईले आयोनिक फाइभलाई वातावरणमैत्री बनाउन रिसाइकल प्लास्टीक बोटलबाट बनेको प्लास्टिक, ईको फ्रेन्ड्ली लेदर तथा पेन्ट्सका साथै नेचुरल उलन यानको प्रयोग गरेको छ । आयोनिक फाइभको सिट, आर्मरेस्ट, हेडलाइनर, डोर ट्रिम ताथ फ्लोरहरुमा यस्तो मेटेरियलको प्रयोग गरेको छ ।

आयोनिक फाइभको छतमा सोलार प्यानल जडान भएको छ, जसको कारण उज्यालोमा गाडी पार्क गर्दा आफै व्याट्री रिचार्ज भइरहने छ । यसको फ्रन्ट सिटहरु इलेक्ट्रीकल्ली अपरेट गर्न मिल्ने छ । सिटको डिजाइन पनि पुरै पछाडि ‘रिक्लाइन एङ्गल’को रहेको छ । कारमा दुईवटा १२ इन्चको वाइड स्किृन डिजिटल डिस्प्ले रहेको छ ।

नेपालमा आउने आयोनिक फाइभमा भने ५८ किलोवाट आवरको व्याट्री रहनेछ । यसमा दिइएको व्याट्रीलाई ३५० किलोवाटको चार्जरले चार्ज गर्दा ५ बाट ८० प्रतिशत रिचार्ज गर्न केवल १८ मिनेट लाग्ने छ । यस कारलाई ५ मिनेटमै १०० किलोमिटरको रेन्ज बरावरकोे रिचार्ज गर्न सकिन्छ ।

मारुती सुजुकी नयाँ जेनेरेशन सेलेरियो

मारुती सुजुकीले बी सेग्मेन्ट ह्याचव्याक कारको रुपमा बजारमा ल्याएको नयाँ जेनेरेशन सेलेरियो उच्च माइलेज दिने कारकोरुपमा कम्पनीले ब्राण्डिङ गरिरहेको छ । निकै आकर्षक लुक्समा बजारमा आएको सेलेरियो डिसेम्बर अन्तिमसम्ममा नेपाल आउने जनाइएको छ ।

कम्पनीले यसमा १.० लिटर ड्यूलजेट इन्जिन दिएको छ । आइडियल स्टार्ट/स्टप सिस्टम सहित आएकोले यो इन्जिनले २६.६८ किलोमिटर प्रतिलिटरको उच्च माइलेज दिने कम्पनीले दावी गरेको छ । यसको मूल्य पनि २५ देखि ३२ लाख भित्रै रहने अनुमान गरिएको छ ।

यसमा दिइएको इन्जिनले अधिकतम ६६ हर्स पावर र ८९ एनएम टर्क प्रदान गर्छ । यसअघिको सेलेरियोको तुलनामा नयाँ इन्जिनले २ हर्स पावर र एक एनएम टर्क कम उत्पादन गर्छ । यसलाई कम्पनीले म्यानुयल र एएमटी गियरबक्समा ल्याएको छ ।

लम्बाई र उचाई पहिलेको मोडल जस्तै समान ३६९५ एमएम र १५५५ एमएम रहेको नयाँ सेलेरियोको चौडाई भने ५५ एमएम बढी रहेको छ । यसको चौडाई १६५५ एमएम छ । ह्वीलवेस १० एमएम र ग्राउन्ड क्लियरेन्स ५ एमएमले बढेको छ । यसमा २४३५ एमएमको ह्वीलवेस र १७० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

पहिलो पटक सेलेरियोमा इन्फोटेन्टमेन्ट सिस्टम, अलोय ह्वील जस्ता फिचर थप भएका छन् भने क्यावीन पहिलेको भन्दा प्रिमियम पाउन सकिन्छ । नेपालको आधिकारीक विक्रेता सिजी मोटोकर्पले नयाँ जेनेरेशन सेलेरियो आगामी डिसेम्बरमा नेपाल ल्याउने अनुमान गरिएको छ ।

महिन्द्रा एक्सयूभी ७००

महिन्द्राको आधिकारीक वितरक अग्नी इन्कर्पोरेट प्रालिले एसयूभी ‘एक्सयूभी–७००’ नेपाल ल्याउने प्रयास गरिरहेको जनाएको छ । कम्पनीले ६० लाखदेखि १ करोड २० लाख भित्रै रहनेगरी एक्सयूभी ७०० का सबै भेरियन्ट बजारमा ल्याउने अनुमान गर्न सकिन्छ ।

थुप्रै हाइटेक फिचरहरु समावेस भएको यो गाडीमा ‘एड्रिनोएक्स’ कनेक्ट फिचर दिइएको छ । बोस्च इन्डियाले उत्पादन गरेको यो सिस्टम निकै नविनतम, लोभलाग्दो र प्रयोग गर्न सजिलो रहेको महिन्द्राको दावी गरेको छ ।

एड्रिनोएक्स कनेक्ट सिस्टमको कारण यसमा थुप्रै यूनिक सुरक्षा फिचरहरु उपलब्ध रहेको महिन्द्राको दावी छ । यही सिस्टमको कारण चालकलाई सधै सजग गराउन मद्दत पुग्ने छ । यदि चालक निदाउन लागेको छ भने पनि सिस्टमले उसलाई निर्देश गर्नेछ ।

उच्च गतिमा गाडी गुडाउन पनि यो सिस्टमले चालकलाई दिने छैन । बोस्चले चालकलाई निन्द्रा लागेको पत्ता लगाउने प्रविधि प्रयोग गरेको यो सेग्मेन्टमा नै पहिलो एसयूभी भएको जनाएको छ । उक्त सिस्टमले चालकको बानी व्योहोरालाई राम्रोसँग विष्लेषण गरेर बेला बखतमा वार्निङ गरिरहने छ ।

यात्रालाई आरामदायी र मनोरन्जनात्मक बनाउन मोवाइल कनेक्ट, सिमकार्ड बिनाको नेभिगेशन, रिमोर्ट स्टार्ट÷स्टप, क्लाइमेट कन्ट्रोल, रिमोर्ट विन्डो कन्ट्रोल, मोवाइल एप र स्मार्टवाचवाट भेहिकल कन्ट्रोल जस्ता फिचर पनि यसमा समावेस भएका छन् ।

कनेक्ट कार फिचरको सहायतले यसको इन्फोटेन्टमेन्ट सिस्टममा नै न्यूज, राशीफल, मौसम, आफु हिडिरहेको एरियाको विषयमा जानकारी पाउन सकिन्छ । यी सबै फिचर नेपाली सडकमा चल्छन् वा चल्दैनन् भन्ने विषय अहिले एकिन भएको छैन ।

एक्सयूभी ७०० भिन्न दुई इन्जिन अप्सनमा आउने छ । यसमा २.२ लिटर टर्बो डिजेल र २.० लिटर टर्बो पेट्रोल इन्जिन मध्ये ग्राहकले एउटा छनोट गर्न सक्ने छन् । यसमा रहेको टर्बो पेट्रोल इन्जिनले २०० पीएस र डिजेल इन्जिनले १८५ पीएस पावर प्रदान गर्नेछ । डिजेल इन्जिनको टर्क ४५० एनएम छ भने पेट्रोल इन्जिनको ३८० एनएम रहेको छ ।

हुन्डाई अल्काजार

लक्ष्मी इन्टरकन्टिनेन्टलले भारतमा बनेको पहिलो ७ सिट क्षमताको एसयूभी नेपाल ल्याउने तयारी गरिरहेको छ । हुन्डाईले ६ र ७ सिट अप्सनमा उपलब्ध हुने नयाँ एसयूभी अल्काजारले भारतीय बजारमा सफलता पाइरहेको छ ।

हुन्डाई क्रेटाको प्ल्याटफर्ममा तयार भएको नयाँ एसयूभी अल्काजारमा २७६० एमएमको ह्वीलवेस दिइएको छ । जुन क्रेटाको भन्दा १५० एमएम लामो हो । ट्वीक्ड ग्रिल, अपग्रेडेड बम्पर, दुई एग्जस्ट पाइप, आल्मुनियम स्कीड प्लेट, १८ इन्चको अलोय ह्वील जस्ता फिचर यसमा पाउन सकिन्छ ।

कम्पनीले यसमा २.० लिटर क्षमताको पेट्रोल र १.५ लिटर डिजेल इन्जिन दिएको छ । यसमा प्रयोग भएको २.० लिटर पेट्रोल इन्जिनले अधिकतम १५९ हर्सपावर र १९२ एनएम टर्क प्रदान गर्ने छ । उक्त इन्जिनमा ६ स्पीड म्यानुयल र ६ स्पीड टर्क कन्भटर्र अटोमेटिक गियरबक्स दिइएको छ ।

यसमा रहेको डिजेल इन्जिन भने क्रेटाबाट नै लिइएको छ । उक्त इन्जिनले अधिकतम ११५ पीएस पावर र २५० एनएम टर्क प्रदान गर्ने छ । यसमा पनि ६ स्पीड म्यानुयल र ६ स्पीड टर्क कन्भटर्र अटोमेटिक गियरबक्स दिइएको छ ।


Back_to_top