काठमाडाैं । भारतको विद्युतीय गाडी बजार तीव्र रूपमा विस्तार भइरहे पनि आगामी केही वर्षमा सबैभन्दा रोचक प्रतिस्पर्धा विद्युतीय गाडीमा मात्र सीमित नहुने अनुमान गरिएको छ ।
सस्तो र सानो हाइब्रिड कारले पेट्रोल गाडीको सहजता र विद्युतीय मोटरको कम इन्धन खपतलाई एउटै प्याकेजमा जोड्दै नयाँ उपभोक्ता वर्ग तान्न सक्ने भारतीय मिडिया अटोपण्डितले आफ्नो रिपोर्टमा दावी गरेको छ ।
विशेषगरी कम मूल्यका कार र कम्प्याक्ट एसयूभीमा हाइब्रिड प्रविधिको प्रवेशले भारतको यात्रुवाहक गाडी बजारको शक्ति संरचना बदल्न सक्छ ।
मारुती सुजुकी, टोयोटा, हुन्डाई र रेनोले आगामी १८-२४ महिनामा साना हाइब्रिड मोडल ल्याउने तयारी गरिरहेको रिपोर्टहरू सार्वजनिक भएका छन् । यद्यपि उनिहरुले ल्याउने मोडल, मूल्य र बजार प्रवेशको अन्तिम विवरण एकिन भइसकेको छैन ।
अटोपण्डितको विचारमा, सानो हाइब्रिडको सबैभन्दा ठूलो शक्ति यसको ‘चार्ज गर्न नपर्ने विधि’ हो । घरमा चार्जर राख्न नसक्ने, लामो दूरीमा बारम्बार यात्रा गर्ने वा पेट्रोल गाडीबाट पूर्ण रूपमा विद्युतीय गाडीमा जान हिच्किचाउने उपभोक्ताका लागि हाइब्रिड कार व्यावहारिक विकल्प बन्न सक्छ ।
तर, यसको सफलता प्रविधिभन्दा बढी मूल्यमा निर्भर हुनेछ । उदाहरणका लागि, वार्षिक १२ हजार किलोमिटर चल्ने कारले पेट्रोलमा १५ किलोमिटर प्रतिलिटर र हाइब्रिडले २२ किलोमिटर प्रतिलिटर माइलेज दिने मान्दा पेट्रोलको मूल्य १०० रुपैयाँ प्रतिलिटरमा हाइब्रिडले वर्षमा करिब २५ हजार रुपैयाँ इन्धन बचत गर्न सक्छ ।
यस्तो अवस्थामा हाइब्रिडको मूल्य पेट्रोल संस्करणभन्दा १ लाख रुपैयाँ बढी भए करिब चार वर्षमा अतिरिक्त लगानी उठ्न सक्छ । तर, २ लाख रुपैयाँ बढी मूल्य भए त्यो अवधि करिब आठ वर्ष पुग्छ । त्यसैले भारतमा कार उत्पादकका लागि चुनौती ‘हाइब्रिड बनाउने’ होइन, ‘कति सस्तोमा हाइब्रिड बनाउने’ हो ।
मारुती सुजुकीले फ्रन्क्स, बलेनो, स्विफ्ट र ब्रेजाजस्ता मोडलमा सस्तो हाइब्रिड प्रविधि प्रयोग गर्ने सम्भावना देखाएको छ । टोयोटाले अर्बन क्रुजर टाइसर, हुन्डाईले सानो हाइब्रिड र रेनोले कम्प्याक्ट एसयूभीमा हाइब्रिड विकल्प ल्याउने तयारी गरिरहेको रिपोर्ट छ ।
तर, हाइब्रिडले पेट्रोल, सीएनजी र विद्युतीय गाडीसँग एकैपटक प्रतिस्पर्धा गर्नुपर्नेछ । उपभोक्ताको वार्षिक यात्रा, इन्धन खर्च, चार्जिङ सुविधा र सुरूवाती मूल्यले कुन प्रविधि उपयुक्त हुन्छ भन्ने निर्धारण गर्नेछ ।
त्यसैले भारतमा आगामी हाइब्रिड युद्ध ‘कसको प्रविधि उत्कृष्ट ?’ भन्दा पनि ‘कसले कम मूल्यमा बढी बचत दिन सक्छ ?’ भन्ने प्रश्नमा केन्द्रित हुनेछ । यदि उत्पादकहरूले मूल्य, वास्तविक माइलेज र मर्मत खर्चबीच सही सन्तुलन कायम गर्न सके भने साना हाइब्रिड कार भारतको अर्को ठूलो बजार बन्न सक्छन् ।

