काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राले सन् २०२१ मा आक्रमक बजार विस्तारको रणनीति बनाएर काम गरिरहेको छ । कम्पनीले यस वर्ष एक्सयूभी ५००, अल न्यू स्कार्पियो र एक्सयूभी ४०० बजारमा ल्याउँदै छ ।
कम्पनीले यहि वर्ष केयूभी १०० इलेक्ट्रीक माइक्रो एसयूभी र एक्सयूभी ३०० इलेक्ट्रीक एसयूभी पनि बजारमा ल्याउने तयारी गरिरहेको छ । चालु वर्षको १० महिनामा कम्पनीले ५ नयाँ उत्पादन बजारमा ल्याउने तयारी गरेको हो । नयाँ उत्पादनसँगै कम्पनी आक्रमक बजार विस्तारमा लाग्ने देखिएको छ ।
नेपालमा पनि महिन्द्राले सन् २०२१ लाई लक्षित गरेर नयाँ उत्पादन ल्याउने तयारी गरिरहेको छ । महिन्द्राको आधिकारीक वितरक अग्नी इन्कर्पोरेट प्रालिले नयाँ जेनेरेशन थार, इलेक्ट्रीक केयूभी १००, नयाँ जेनेरेशन स्कार्पियो जस्ता मोडल नेपालमा ल्याउने छ ।
यसअघि डिजेल गाडीको लागि निकै चर्चा कमाएको महिन्द्राले नयाँ जेनेरेशन थार, नयाँ जेनेरेशन स्कार्पियो र अटोमेटिक एक्सयूभी ३०० बाट आफ्नो पेट्रोल लाइनअपलाई बलियो बनाउन लागि पर्ने देखिएको छ ।
इलेक्ट्रीक, डिजेल र पेट्रोल अप्सनमा कारहरु उपलब्ध गराउने भएसँगै महिन्द्राको बजार हिस्सा थप बलियो हुने कम्पनीले विश्वास लिएको छ । त्यसको लागि सबैभन्दा पहिला नयाँ जेनेरेशन थार नेपाल तयारी भइरहेको कम्पनी स्रोतको दाबी छ ।
महिन्द्राका एसयूभी नेपाली बजारमा निकै सफल मानिन्छन् । स्कार्पियो मोडल नेपालमा सर्वाधिक विक्री हुने गरेको छ । यसमा पीक अप र एसयूभी उपलब्ध रहेको छ भने महिन्द्रा बलेरो पनि नेपालमा निकै सफल मानिन्छ । प्रिमियम एसयूभीको रुपमा बजारमा उपलब्ध एक्सयूभी ५०० पनि राम्रै संख्यामा विक्री हुने मोडल हुन् । यस्तोमा कम्पनीले यी मोडलको नयाँ जेनेरेशन ल्याएर ग्राहकलाई सन्तुष्ट पार्न कोशिस गर्ने छ ।


