हट्यो ईभीमा कर छुट, ट्रम्प प्रशासनको निर्णयपछिका ५ परिदृष्य

काठमाडौं । विगत लामो समयदेखि अमेरिकी सरकारले ईभीको प्रयोग बढाउन ७ हजार ५०० अमेरिकी डलर अनुदान दिदै आएको थियो । सेप्टेम्बर ३० लाई अन्तिम दिन बनाउँदै उक्त अनुदान ट्रम्प प्रशासनले हटाएको हो ।

राष्ट्रपतिको कार्यभार सम्हालेदेखि नै ट्रम्पले अमेरिकाले अंगाल्दै आएको कयौं नीतिहरु फेरबदल गरेका थिए । त्यो मध्ये ईभीको प्रयोगलाई कमजोर बनाउँदै पेट्रोलियम पदार्थ उत्खनन् गर्ने उनको घोषणा थियो । सत्ता सम्हालेको ९ महिनापछि उनले ईभीमा दिदै आएको अनुदान पूर्ण रुपमा खारेज गरिदिएका हुन् ।

विश्वकै ठूलो अर्थतन्त्रले ईभीको प्रयोगलाई निरुत्साहन सुरु गरेसँगै यसको विपक्षमा धेरै वातावरणविददेखि पर्यावरणमा काम गर्दै आएका मानिसले प्रश्न उठाउँदै आएका छन् । तर, त्यसले ट्रम्पलाई छुन सकेको छैन ।

जुलाई महिनामा रिपब्लिकनहरुको ब्यापक बजेट बिलले कर क्रेडिट हटाउने ट्रम्पको प्रस्तावलाई स्विकृति दिएको थियो । त्यसयताको तीन महिनामा मात्रै ४ लाख १० हजार अमेरिकीहरुले नयाँ ईभी खरिद गरेको अनुमान छ । त्यसैले २०२५ को तेस्रो क्वाटरमा टेस्लाले रेकर्ड बिक्री भेट्टाएको थियो ।

सरकारले अनुदान कटौती गरेपछिका सम्भावित ५ परिदृष्य यस प्रकार रहने अनुमान विभिन्न रिपोर्टहरुले गरेका छन् । यहाँ हामी प्रक्षेपणहरु यहाँ उल्लेख गरेका छौं ।

छोटो समयको लागि मागमा कमी

सेप्टेम्बर अन्तिमसम्म सरकारले दिएको अनुदानको फाइदा उठाउँदै उपभोक्ताले नयाँ ईभी अर्डर गरिसकेका छन् । त्यसैले अबको केही महिना मागमा कमी आउने छ । कम्पनीहरुको कम्तिमा आगामी दुई वा तीन महिना बिक्रीमा गिरावट देखिने छ ।

सीएनबीसीले गरेको एक कार्यक्रममा जनरल मोटर्सको सीएफओ पल ज्याकबसनले भनेका छन्, ‘अक्टोबर र नोभेम्बरमा हल्ला धेरै हुनेछ । मेरो बिचारमा ईभीको माग उच्च गतिमा घट्ने छ ।’

क्रमिक रुपमा माग बढ्ने

यसअघि बाइडेन प्रशासनले लिएको नीतिको कारण अमेरिका ईभीमा जाने बातावरण बनेको थियो । ट्रम्पले त्यसलाई उल्टाएसँगै केही ढिलो गरी ईभीमा अमेरिकीहरु जाने छन् ।

अटोफोरकास्ट सोलुसन्सका उपाध्यक्ष साम फियोरानी भन्छन्, ‘विगत केही वर्षदेखि देखिएको तिब्र बिस्तार अब देखिने छैन । अहिले ८ प्रतिशत हाराहारी रहेको ईभीको हिस्सा सन् २०३० मा बल्ल १२.८ प्रतिशत पुग्नेछ । यसले विस्तारै बजार फिर्ता आउने संकेत मात्रै गर्छ ।’

प्रविधि र प्रतिस्पर्धाले बिक्री बढाउने

सरकारले ईभीको लागि कुनैपनि सहयोग नगर्दापनि अमेरिकी जनताले विद्युतीय साधन किन्ने भविष्यवाणी पनि भएका छन् । त्यसको मुख्य कारण प्रविधिको विकास र कम्पनीहरु बीच बढ्दो प्रतिस्पर्धा मुख्य कारण बन्ने छ ।

विद्युतीय साधनमा प्रविधिको विकास तिब्र छ । मर्सिडिज बेन्ज र बीएमडब्लू जस्ता लग्जरी ब्राण्डले नयाँ पुस्ताको ईभी बनाउने घोषणा गरेका छन् । करिब ७०० किलोमिटर रेन्ज र अल्ट्रा फास्ट चार्जिङ टेक्नोलोजीको प्रयोगले ईभीबाट अमेरिकी उपभोक्ता बाहिर हुनै सक्दैनन् ।

ईभीको मूल्य घट्ने

विद्युतीय सवारी साधनको मूल्य घट्ने क्रममा नै रहेको छ । विश्वब्यापी ईभीको बढ्दो प्रयोग, उत्पादन वृद्धि, उत्पादन लागत कम, ब्याट्रीको मूल्यमा चलिरहेको निरन्तर गिरावट जस्ता कारण अहिले सरकारले अनुदान कटाएपनि मूल्य घट्ने र उपभोक्ताले ईभी प्रयोग गर्ने अनुमान गरिएको छ ।

योजनाबाट पछाडि हट्न सक्छन् उत्पादक

सबैभन्दा चिन्ताको विषय भनेको ईभी उत्पादनमा आक्रमक योजना तयार पारेर काम गरिरहेका निर्माताहरु तत्काल केही समयको लागि ईभी उत्पादनको राणनीति परिवर्तन गरेर अगाडि बढ्ने सम्भावना छ । अहिले निकै प्रतिस्पर्धी भएको बजारमा मागमा कमी आउँदा कम्पनीहरुको रणनीति फेरिन सक्छ ।

यसरी फेरिने रणनीतिले अमेरिकाको ईभी प्रयोग बढाउने योजनामै असर पुग्न सक्नेछ । यसको रणनीति असर विश्वका अन्य देशमा पनि देखिने छ । किनभने अमेरिका कार बिक्री संख्याको हिसावले विश्वकै दोस्रो ठूलो कार बजार हो । मूल्यको हिसावले विश्वकै सबैभन्दा ठूलो बजार मानिन्छ ।


Back_to_top