दुई दिन यात्रा नगर्न चितवन, धादिङ्ग र तनहुँ जिल्ला प्रशासनको आग्रह

काठमाडौं । भारी वर्षाको सम्भावना देखाउँदै चितवन, धादिङ्ग र तनहुँ जिल्ला प्रशासन कार्यालयले आगामी २० गतेसम्म अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह गरेको छ ।

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यसअघि नै पृथ्वी राजमार्गको कोत्रे-मुग्लिङ्ग नागढुङ्गा एवं नारायणगढ-मुग्लिङ्ग सडकमा निरन्तर पहिरो गई समय-समयमा सवारी आवागमन अवरुद्ध हुँदै आएको र भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै यात्रामा सजकता अपनाउन आग्राह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यहि मिति २०८२ असोज१७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुनसक्ने पूर्वानुमान रहेको बताउँदै रातको समयमा यात्रा नगर्नु अनुरोध गरेको छ ।

रातिको समय सीमाभित्र अत्यावश्यक बाहेक मालवाहक ठुला सवारी साधनहरु नचलाउन र पूर्वानुमान अनुसार वर्षा भएको खण्डमा स्थानीय प्रशासनबाट राजमार्गहरुमा आवागमन बन्द गर्नुपर्ने अवस्था आउनेतर्फ सचेत र सतर्क रहन सर्वसाधारणमा अपिल गरिएको छ ।

उपत्यकामा पनि खतरा रहेको मौसम विभागले जनाएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयहरुले पनि खोला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।


Back_to_top