८०% सवारी दुर्घटना चालकको लापारबाहीले, ड्राइभ गर्दा गर्दै निदाउँछन्

फाइल तस्बिर ।

काठमाडौं । कोशी प्रदेशमा भएका सवारी दुर्घटनामध्ये ८० प्रतिशत चालकको लापरबाहीका कारण हुने गरेको पाइएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सार्वजनिक गरेको मंसिर महिनाको तथ्यांक अनुसार यस्तो देखिएको हो ।

सार्वजनिक तथ्यांक अनुसार मंसिरमा कोशी प्रदेशमा कुल ५८१ वटा दुर्घटना भएका छन् । तीमध्ये ४६५ अर्थात् ८०.०३ प्रतिशत दुर्घटना चालकका लापारबाहीले भएको कार्यालयको तथ्यांक छ ।

चालकले तीव्रगतिमा सवारी चलाउने, ओभर टेक गर्दा लेन अनुशासन पालना नगर्ने, मापसे गरी सवारी चलाउने जथाभावी सवारी रोकी यात्रु चढाउने/ओराल्ने गर्ने, सवारी चलाउँदा निदाउने, असक्षम हुँदा हुँदै सवारी चलाउने लगायत लापारबाही गरेको पाइएको छ । मंसिरमा चालक सवारी चलाउदा चलाउँदै निदाएका कारण दुई वटा दुर्घटना भएको कार्यालयले जनाएको छ ।

त्यस्तै, यात्रुका कारण पनि सवारी दुर्घटना हुने गरेको पाइएको छ । यात्रुले जथाभावी बाटो काट्ने, बस स्टेसन बाहेक पनि हतारमा सवारीमा चढ्ने, ओर्लने कारण ९.५ प्रतिशत दुर्घटना भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सडकको अवस्थाको कारण ५.३ प्रतिशत, ओभर लोड, टायर पन्चर र ब्रेक फेल भएर ४ प्रतिशत, मौसम, पशु चौपाय र अन्य कारणले १ प्रतिशत दुर्घटना भएको पाइएको छ ।

मंसिरमा कोशीमा कुल ८६२ सवारी साधन दुर्घटना परेका छन् । ती दुर्घटनामा परी ३२ जनाको मृत्यु भएको छ भने ९७९ जना घाइते भएका छन् ।


Back_to_top