काठमाडौं । भेस्पा भन्नासाथ तपाईंको दिमागमा आउने पहिलो कुरा के हो ? अधिकांशको दिमागमा त रेट्रो डिजाइनमा बनेको स्टाइलिस स्कुटर आउँछ । इटालियन अटो निर्माता पियाजियोले उत्पादन गरेको भेस्पाका स्कुटर डेल्टा अटोर्कपले नेपालमा बिक्री गर्दै आएको छ ।
विश्वका १०० भन्दा बढी देशमा बिक्री हुने भेस्पाका स्कुटर नेपालमा ३०/३५ वर्ष अगाडि नै थियो । युरोप, एशिया र उत्तर अमेरिकी देशहरूमा निकै सफल मानिने आइकोनिक मोडल सचेत व्यक्तिको ‘स्टाटस सिम्बोल’को रूपमा लिइन्छ ।
खासगरी उच्च मध्यम र मध्यमवर्गका उपभोक्ताले प्रयोग गर्दै आएको भेस्पाका स्कुटर रेट्रो लुकसँगै आधुनिक प्रविधिले भरिपूर्ण मानिन्छ । अहिले पनि एबीएस सहित आउने स्कुटरमा डिजिटल ड्यासबोर्ड दिइएको छ । विश्वका धेरै बजारमा इलेक्ट्रीकमा पनि यसलाई बिक्री गरिँदै आइएको छ ।
भारतमा १२५ र १५० सीसी क्षमताको इन्जिनमा बन्दै आएको भेस्पा स्कुटर नेपालमा पनि उपलब्ध छ । डेल्टा अटोकर्पले भेस्पा एलएक्स-१२५, भेस्पा नोटे, भेस्पा एसएक्सएल १२५ र भीएक्सएल १२५ खरिद गर्न सकिन्छ । यसको १५० सीसी इन्जिनमा भने एउटा मात्रै भेरियन्ट छ, जुन भेस्पा भीएक्सएल १५० हो । मूल्य अन्य प्रतिस्पर्धी जस्तै भए पनि यसलाई उच्च मध्यम र मध्यम वर्गले मात्रै नेपालमा किन्दै आएका छन् ।

भेस्पाले नेपालमा बिक्री गर्ने बेस भेरियन्टको मूल्य ३ लाख १ हजार ९४६ रुपैयाँदेखि टप भेरियन्ट भेस्पा भीएक्सएलको मूल्य ४ लाख ६ हजार ४४६ रुपैयाँसम्म छ । मूल्यका हिसाबले भेस्पाका स्कुटरहरू टीभीएस, होन्डा, यामाहा र सुजुकीका स्कुटरसँग सिधा प्रतिस्पर्धामा देखिन्छ । तर, यसको डिजाइनले अन्य स्कुटरलाई सिधै माथ दिन्छ ।
भेस्पाले नै विश्वका धेरै देशमा स्कुटर युनिसेक्स हुन्छ भन्ने मान्यता स्थापित गरेको हो । भारतमा उत्पादन भएर आउने भएको कारण नेपाली बजारमा यसको पार्टस उपलब्धता र सर्भिस पनि बलियो छ ।
नेपालमा निम्न मध्यम र मध्यम वर्गले मात्रै मोटरसाइकल र स्कुटर खरिद गर्न सक्ने अवस्था छ । यस्तोमा भेस्पाको मूल्य अझै बढी लाग्नसक्छ । साथै, किन्दा उच्च लागत र अन्य प्रतिस्पर्धीको भन्दा केही महँगो स्पेयर पार्टस र मर्मत खर्चका कारण धेरैले अन्य ब्राण्ड रोज्ने गरेको पाइन्छ ।

