नेपालमा भिटारा ब्रेजा सफल हुनुका ४ कारण

काठमाडौं । मारुती सुजुकीको आधिकारीक विक्रेता सिजी मोटोकर्पले मारुती सुजुकी भिटारा ब्रेजाको पेट्रोल इन्जिन सहितको फेसलिफ्ट मोडल गत असारबाट नेपालमा विक्री सुरु गरेको हो ।

कम्पनीले नयाँ ब्रेजा नेपालमा ल्याएसँगै यसको माग र विक्री निकै बढेको छ । असारबाट यता मात्रै कम्पनीले ५ सय यूनिट ब्रेजा विक्री गरिसकेको जनाएको छ । अहिले पनि ब्रेजा किन्न चाहने ग्राहकले केहि दिन कुर्नु पर्ने अवस्था रहेको कम्पनीको भनाई छ ।

यसअघि डिजेल इन्जिनमा मात्रै उपलब्ध ब्रेजा उपत्यकामा भन्दा उपत्यका बाहिर बढी विक्री भएको कम्पनी स्रोतको भनाई छ । तर, नयाँ इन्जिन सहित आएपछि यसको विक्री उपत्यकामा पनि निकै राम्रो भएको हो ।

अहिले ब्रेजाको भिएक्सआई भेरियन्टको मूल्य ४१ लाख ६९ हजार रुपैयाँ रहेको छ भने जेडएक्सआई प्लस भेरियन्टको ४४ लाख ६९ हजार रुपैयाँ रहेको छ ।

यस्तोमा पछिल्लो दिनमा ब्रेजामा ग्राहकको आकर्षण बढ्नुमा मुख्य चार कारण रहेको बुझ्न कठिन छैन ।

१. पेट्रोल इन्जिन र पहिलेभन्दा बढी पावर

मारुती सुजुकीले यसअघि रहेको १.३ लिटर डिजेल इन्जिनलाई परिवर्तन गरेर १.५ लिटर पेट्रोल इन्जिनमा ल्याएसँगै यसको माग नेपालमा बढेको देखिन्छ । यसमा रहेको १४६२ सीसी क्षमताको ‘के १५ बी’ इन्जिनले अधिकतम ६००० आरपीएममा १०५ बीएच पावर र ४४०० आरपीएममा १३८ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल गियरबक्स दिइएको छ ।

माइलेको कारण पनि ब्रेजा चर्चामा रहेको छ । यसले प्रतिलिटर १८ किलोमिटर माइलेज प्रदान गर्ने एआरएआईले प्रमाणित गरेको छ । यद्यपी सडकमा यसको माइलेज १२ किलोमिटर प्रतिलिटर हुने विभिन्न परिक्षणले देखाएको छ ।

२. ठूलो क्याविन

झट्ट हेर्दा निकै ठूलो देखिने ब्रेजाको लम्बाई ३९९५ एमएम रहेको छ । यसको चौडाई १७९० एमएम रहेकोले यसको भित्री क्याविन ठूलो र फराकिलो लाग्छ । यसको ड्यास बार्ड औषत रहेको छ । चालक र यात्रुलाई आवश्यक सुरक्षा फिचर र इन्फोटेन्टमेन्ट सिस्टम यसमा पाउन सकिन्छ ।

३. डिजाइन र सुजुकी ब्राण्ड

गाडीलाई परम्परागत एसयूभीको लुक्समा मारुती सुजुकीले तयार गरेको छ । नेपालमा कार खोज्दा जापानी उत्पादकले उत्पादन गरेको खोज्ने चलन अहिलेपनि रहेको पाइन्छ । यस्तोमा भारतमा मारुती सुजुकीले उत्पादन गरेको कार भएपनि सुजुकीको लोगोले धेरैलाई विश्वास जगाएको छ ।

परम्परागत डिजाइनमा तयार भएको एसयूभी भएपनि ग्राहकले यसको बाहिरी बनोट निकै स्पोर्टी पाउन सक्छन् । फुल एलइडी प्रजेक्टर हेडल्याम्प, स्क्यावर सेप ह्वील, मस्कुलर बम्पर, अगाडि र पछाडि दिइएको स्कीड प्लेट आदिले यसलाई आकर्षक देखाएको छ ।

४. राम्रो रिसेल मूल्य

नेपालमा मारुती सुजुकीले विक्री गरेका सबै मोडलको रिसेल मूल्य उत्कृष्ट रहेको छ । कम्पनीले देशभर बनाएको विक्री नेटवर्क र सर्भिस नेटवर्कको कारणपनि धेरै मानिसको विश्वास मारुती सुजुकीले जित्दै आएको छ । यसको फाइदा भिटारा ब्रेजाले पनि पाएको देखिन्छ ।


Back_to_top