काठमाडौं । होन्डाको चर्चित कम्यूटर मोटरसाइकल सिबी साइनले नयाँ इतिहास बनाएको छ । होन्डाको यो चर्चित मोटरसाइकलले भारतमा ९० लाख यूनिट विक्री पुरा गरेर नयाँ इतिहास बनाएको हो ।
कम्पनीले पहिलो पटक साइनलाई सन् २०१६ मा बजारमा उतारेको हो । बजारमा आएको १४ वर्षमा भारतमा मात्रै यसको विक्री ९० लाख यूनिट पुरा भएको कम्पनीले जनाएको छ । भारतमा हरेक सेकेन्डमा एउटा होन्डा साइन विक्री भएको तथ्यांकले देखाउँछ ।
होन्डाको सिबी साइन नेपालमा पनि सर्वाधिक विक्री हुने १२५ सीसीको मोटरसाइकल हो । नेपाल आएदेखि नै सेग्मेन्ट लिडर रहेको होन्डा सिबी साइनले अहिलेसम्म पछाडि फर्केर हेर्नु परेको छैन ।
होन्डाले नेपालमा विक्री गर्दै आएको बीएस ४ इन्जिन सहितको साइनमा १२४.७ सीसी क्षमताको इन्जिन रहेको छ । उक्त इन्जिनले ७५०० आरपीएममा अधिकतम १०.५६ बीएच पावर प्रदान गर्ने छ भने, ५५०० आरपीएममा १०.३० एनएम टर्क प्रदान गर्छ । यसमा १०.५ लिटर क्षमताको इन्धन ट्याङ्क दिइएको छ ।
मोटरसाइकललाई आरामदायी बनाउन अगाडि टेलिस्कोपिक र पछाडि स्पीङ लोडेड हाइड्रोलिक सस्पेन्सन दिइएको छ । स्याकार कम्पनीले नेपाली बजारमा बिक्री गर्दै आएको होन्डा सिबी साइनको सुरुवाती मूल्य २ लाख ९ हजार ९०० रुपैयाँ रहेको छ ।

