काठमाडौं । पछिल्लो समय नेपालमा एकपछि अर्को नयाँ विद्युतीय कार आइरहेका छन् । यसैक्रममा, एस क्यूब इन्टरप्राइजेजले अर्को बजेट कार ‘भोल्ट्स एचइभी ४००’ नेपाल ल्याउने भएकाे हो ।
ह्याचब्याक डिजाइनमा उपलब्ध हुने ‘एचइभी-४००’ मोडलको लम्बाइ ३७४० एमएम, चौडाइ १६५५ एमएम र उचाइ १५५० एमएम रहेको छ । डिजाइन अनुसार हेर्दा यो कार माइक्रो एसयूभीको झल्को दिने खालको छ । यसमा २४१५ एमएमको ह्वीलबेस पाउन सकिन्छ ।
चिनियाँ बजारमा फोर सिट क्षमताको भनेर बिक्री हुने कारमा आधुनिक फिचरहरूको लामै लिस्ट पाउन सकिन्छ । यसमा १०.२५ इन्चको फ्लोटिङ डिस्प्ले, जीपीएस नेभिगेशन, भ्वाइस रिकगनिशन, ओटा अपडेट दिइएको छ ।
दुई ब्याट्री अप्सनमा नेपाल आउने एच ईभी-४०० मोडलमा ३२.५६ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री र ३८.५४ किलोवाट आवरको ट्रनरी लिथियम ब्याट्री पाउन सकिन्छ ।
यसमा रहेको सानो लिथियम आयोन फस्फेट ब्याट्रीले सिंगल चार्जमा ३०२ किलोमिटर रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ । ठूलो साइजको ट्रनरी ब्याट्रीले भने ४०८ किलोमिटर रेन्ज दिने सीएलटीसीको जनाएको छ ।
दुवै ब्याट्री भएको कारमा मोटर भने समान ३५ किलोवाट क्षमताको पाउन सकिन्छ । यसको पीकटर्क भने १२५ एनएम रहेको छ ।
गाडीको बाहिरी डिजाइन पनि राम्रो देखिन्छ । अगाडि क्लोज अफ ग्रिलको प्रयोग भएको गाडीमा सी आकारमा दिइएको भेरियन्ट अनुसारको एलईडी र हेलोजिन लाइट पाउन सकिन्छ ।
एस क्यूब इन्टरप्राइजेजले यो सानो इलेक्ट्रीक कारको सुरूआती मूल्य २८ लाख हाराहारी रहने र टप भेरियन्टको मूल्य ३२ देखि ३५ लाख रुपैयाँसम्म पुग्न सक्ने जनाएको छ ।
‘मूल्य लगायतका विषय केही दिनमै बाहिर ल्याउने छौं । मूल्य आएसँगै बुकिङ खुला हुनेछ,’ कम्पनीका प्रबन्ध निर्देशक श्याम सापकोटाले मेरोअटोसँग भने ।