कुन मोटरसाइकल ब्राण्डले दिन्छ धेरै वर्ष वारेन्टी

काठमाडौं । पछिल्लो समय युवापुस्ता माझ मोटरसाइकल र स्कुटर लोकप्रिय बनिरहेको छ । सबै वर्ग र उमेर समूहका लागि ‘फिट’ हुने विशेषताले नेपालमा मोटरसाइकल र स्कुटरको व्यापार बढ्दो छ ।

नयाँ बाइक चढ्न चाहनेहरु आफ्नो क्षमता र रोजाई अनुरुपका बाइक छानिरहेका छन् । ग्राहकको बढ्दो आकर्षणलाई लक्षित गर्दै मोटरसाइकल कम्पनीहरुले छुट, वारेन्टी, फाइनान्स लगायतका आर्कषक योजना ल्याएका छन् । 

बजाज, यामाहा, हिरो, होन्डा, टीभीएस लगायतका कम्पनीले निश्चित समय अवधिका लागि बाइक तथा स्कुटरको इन्जिन र ब्याट्री तथा स्पेयरपार्टमा वारेन्टी प्रदान गर्ने गर्छन् । जसले नयाँ बाइक तथा स्कुटर किन्नेहरुको मन लोभ्याएको पाइन्छ भने बाइकको ब्यापार पनि बढिरहेको छ । 

यस्तोमा मुख्य कम्पनीहरुले कति वर्षको वारेन्टी दिँदै आएका छन्  त भन्ने विषयलाई हामीले यहाँ राख्ने प्रयास गरेका छौं । 

टीभीएस

टीभीएस कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले इन्जिनमा ६० हजार किलोमिटर वा पाँच वर्षे वारेन्टी दिदै आएको छ भने ब्याट्रीमा १२ हजार किलोमिटर वा एक वर्षे वारेन्टी प्रदान गर्दै आएको छ । 

साथै, बाइक वा स्कुटर किनेको ६ महिना भित्र शक अपमा समस्या आए सर्भिसमा छुट हुने कम्पनीले जनाएको छ । यस हिसावले हेर्दा टीभीएसले सबैभन्दा धेरै वारेन्टि प्रदान गर्दै आएको छ । 

होन्डा

होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङ प्रालिले बाइकको इन्जिननमा ३२ हजार किलोमिटर वा दुई वर्षे अवधिका लागि वारेन्टी दिदै आएको छ । स्कुटरको इन्जिनमा पनि समान दुई वर्ष वा २४ हजार किलोमिटरसम्म वारेन्टी दिदै आएको छ । 

स्याकारले ब्याट्रीमा पनि दुई वर्षे अवधिका लागि वारेन्टी दिने गरेको कम्पनीले जनाएको छ ।

बजाज

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हन्सराज हुलासचन्द एण्ड कम्पनीले आफ्नो बाइकको इन्जिनमा तीन वर्षे र ब्याट्रीमा दुई वर्षे अवधिको लागि वारेन्टी दिँदै आएको छ ।

यामाहा

अन्य कम्पनीले जस्तै यामाहाको आधिकारिक बितरक एमएडब्ल्यु इन्टरप्राइजेजले आफ्ना बाइक तथा स्कुटरमा दुई वर्षे वारेन्टी दिदै आएको छ । यामाहाले मोटरसाइकलको इन्जिनमा ३० हजार किलोमिटर र स्कुटरको इन्जिनमा २४ हजार किलोमिटरसम्म वारेन्टी दिइरहेको छ । यस्तै, ब्याट्रीमा १ वर्षको लागि वारेन्टी दिनेगर्छ । सलुटो ड्रममा भने कम्पनीले २८ हजार किलोमिटरसम्म वारेन्टी दिने गरेको जनाएको छ ।

हिरो

हिरोको लागी नेपालको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले  दुईपाँग्रे सवारीमा पाँच वर्षे वारेन्टी प्रदान गर्दै आएको छ । १५ भेरियन्टका स्कुटर तथा मोटरसाइकल बिक्री गर्दै आएको (एनजीएम) ले मोटरसाइकलको  इन्जिनमा ७० हजार किलोमिटर र स्कुटरको इन्जिनमा ५० हजार किलोमिटरसम्म वारेन्टी दिँदै आएको छ । 

यस्तै ब्याट्रीमा भने दुबै किसिमका सवारीमा समान १८ महिनाको वारेन्टी दिँदै आएको जनाएको छ  ।


Back_to_top