काठमाडौं । अहिले वर्षायाम चलिरहेको छ । यो समय लगातार २/३ दिनसम्म पनि वर्षा हुन्छ । अव्यवस्थित शहरीकरण, उचित ढल निकासा नभएका र गहिरा ठाउँमा केही घण्टा मात्रै पानी पर्दा जलमग्न हुने गर्छ । सडक गाडी गुड्ने बाटो नभएर पोखरी बन्ने गर्छ । यस्तोमा घर, पसलदेखि हामीले प्रयोग गर्ने सवारीसाधन समेत डुब्ने गर्छन् ।
हामी सबैमा आफ्नो सवारी साधन नडुबोस् भन्ने चाहना हुन्छ । तर, अविरल वर्षात् र पार्किङ गरेको ठाउँको अवस्था अनुसार कहिलेकाहिँ हाम्रो गाडी डुब्न सक्छ ।
पछिल्लो समय नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ । यस्तोमा ईभी पानीमा डुबेमा के हुन्छ भन्ने प्रयोगकर्तामा कौतुहलता देखिन्छ । यहाँ हामीले अटोमोबाइल इन्जिनीयरहरूसँग कुरा कानी गरेर जिज्ञासा मेट्ने कोशिस गरेका छौं ।
ईभी पानीमा पनि गुडाउनुपर्ने भएकाले यसका सबै पार्टस्हरू वाटर प्रुफ बनाइएको हुन्छ । यसको हाइ भोल्टेज ब्याट्रीलाई अत्याधिक बलियो प्याक बनाई आइपी (इनग्रेस प्रोटेक्सन) ६७ वा ६८ रेटेड प्रुभिङ गरेकाले धुलो वा पानी छिर्न सक्दैन ।
ईभीमा हाइ भोल्टेज करेन्ट हुने ब्याट्रीप्याक हुन्छ । साथै, ईभीमा इलेक्ट्रिक मोटर, धेरै सर्किट तथा तारहरूको संजाल हुने भएकाले धेरै बेर पानीमा डुब्दा करेन्ट लिक हुने हो कि भन्ने डर देखिन्छ ।
हुनतः आइसीई गाडीमा पनि १२ भोल्टको सानो ब्याट्रीका साथै धेरै थरिका इलेक्ट्रोनीक डिभाइस हुन्छन् । तर, पेट्रोल गाडी प्रयोगमा आएका सयौं वर्ष भइसकेकाले सबै अभ्यस्त भइसकेका छन् ।
तुलनात्मक रूपमा ईभी महँगा हुने भएकाले अत्याधिक तातो, चिसोका साथै वर्षातको समयमा पनि सुरक्षित रहनेगरी डिजाइन गरिएको हुन्छ । ईभी पानीमा पनि गुडाउनुपर्ने भएकाले यसका सबै पार्टस्हरू वाटर प्रुफ बनाइएको हुन्छ । यसको हाइ भोल्टेज ब्याट्रीलाई अत्याधिक बलियो प्याक बनाई आइपी (इनग्रेस प्रोटेक्सन) ६७ वा ६८ रेटेड प्रुभिङ गरेकाले धुलो वा पानी छिर्न सक्दैन । त्यसैले, ईभी सामान्य पानीमा डुब्दैमा यसको ब्याट्रीप्याक बिग्रिँदैन (ड्यामेज) नहुने जानकारहरू बताउँछन् ।

ईभी पानीमा डुबे के हुन्छ भन्ने प्रश्नमा विश्व चर्चित ईभी ब्राण्ड टेस्लाका सीईओ इलन मस्कले यदि प्रपर सिल गरिएको छ भने पानीमा टेस्लाले ढुङ्गाको जस्तो काम गर्ने बताएका थिए ।
आइपी रेटिङ अनुसार ३ फिट गहिरो पानीमा ३० मिनेटसम्म ईभी रहँदा इलेक्ट्रीक कम्पोनेन्टहरू कार ब्याट्री टर्मिनल, हाई भोल्टेड ब्याट्रीमा करेन्ट लिक हुने सम्भावना हुँदैन । ३० मिनेटभन्दा बढी समय पानीमा डुबे चाहिँ के हुन्छ त ? नेपालका लागि बीवाइडीको आधिकारकि डिलर साइमेक्स इंकका सर्भिस इन्जिनीयर सुशिल तन्डुकार गाडी ३ फिटभन्दा बढी पानीमा डुब्यो भने ब्याट्री बिग्रन सक्ने जोखिम हुने बताउँछन् ।
ईभी ३० मिनेटसम्म १ मिटरसम्मको पानीमा डुब्दैमा कुनै समयस्या आउँदैन । ईभी पानीमा गुडाउँदा र पानीमै डुबे पनि करेन्ट लिक हुँदैन । तर, पानीमा डुब्न सक्ने स्थानमा गाडी पार्क नगर्नु नै वृद्धिमानी हुन्छ ।
बीवाइडीले ३ फिट पानीमा ३० मिनेटको मात्र वारेन्टी दिएको उनले बताए । उक्त समय वा गहिराई भन्दा धेरै समयसम्म पानीमा ईभी रहेमा त्यस्तो ईभीलाई ‘टोइङ’ गरेर आधिकारकि सर्भिस सेन्टरमा लग्नुपर्ने अवस्था आउने उनी बताउँछन् ।
बीवाइडीको स्ट्याण्डर्ड प्रोसिडियर अनुसार उक्त ब्याट्री रिप्लेस नै गनुपर्ने हुन्छ । पानीमा डुबेको गाडीको वारेन्टी क्लेममा नपर्ने हुनाले इन्सुरेन्स क्लेम गर्न भने सकिन्छ । त्यसकारण नयाँ अटोप्लस इन्सुरेन्स गर्नु उपयुक्त हुने उनी बताउँछन् । अन्य सामान्य पोलिसीमा भने ब्याट्रीको डेप्रिसियसन गाडी गुड्ना साथ एकैपटक ५० प्रतिशत काट्ने नियम रहेको छ । तर अटाेप्लसमा भने गाडिकाे सरह डेप्रिसियसन हुन्छ ।

त्यस्तै, नेपालमा आधा दर्जन बढी ब्राण्डका ईभी बिक्रेता सीजी मोटर्सका सर्भिस म्यानेजर सागर खड्का पनि १ मिटरसम्मको पानीमा ईभी ३० मिनेट डुब्दा केही नहुने बताउँछन् । उनका अनुसार ईभीका ब्याट्री, मोटर तथा सबै वायरहरू इन्टरनेशनल स्ट्याण्डर्ड अनुसार आइपी ६७ वा ६८ रेटेड हुन्छ । यसको अर्थ १ मिटरसम्मको पानीमा ३० मिनेटसम्म छिर्दैन भन्ने हो । उक्त समयभन्दा लामो समय ईभीहरू पानीमा रहेमा त्यसलाई अनिवार्य रूपमा आधिकारीक सर्भिस सेन्टरमा लैजानै पर्छ ।
कतिपय अवस्थामा ब्याट्री प्याक वा मोटर खोलेर मर्मत गनुपर्छ भने कहिलेकाहिँ ब्याट्री वा माेटर नै रिप्लेस गर्नुपर्ने खड्का बताउँछन् ।तर, हाइ भोल्टेज ब्याट्री प्याकमा पानी पसेमा करेन्ट लिक हुने समस्या कहिल्यै हुँदैन । हाइभोल्टेड ब्याट्री प्याकमा कुनै पनि प्रकारको इन्सुलेसन फेलियर भएमा यसमा रहेको कन्ट्याक्टरले मिलिसेकेण्डमै यसको करेन्ट कटअफ गर्दिन्छ । जसका कारण पानीमा डुबेको ईभीमा वा वरिपरि पानीमा करेन्ट लिक हुने सम्भावना नहुने उनले बताए ।
ईभी ३० मिनेटसम्म १ मिटरसम्मको पानीमा डुब्दैमा कुनै समयस्या आउँदैन । ईभी पानीमा गुडाउँदा र पानीमै डुबे पनि करेन्ट लिक हुँदैन । तर, पानीमा डुब्न सक्ने स्थानमा गाडी पार्क नगर्नु नै वृद्धिमानी हुन्छ ।

