तत्काल अर्को ओभरपास बनाउने कि नबनाउने : आशिष गजुरेलको विचार

काठमाडौं । असार ६ गतेदेखि ललितपुरको ग्वार्कोमा नेपालकै पहिलो ओभरपास संचालनमा ल्याइएको छ । यससँगै ग्वार्को क्षेत्रमा सवारी प्रयोगकर्ता जाममा बस्नुपर्ने बाध्यता हटेको छ । अहिले चक्रपथ हुँदै आवतजावत गर्ने सवारी साधन ग्वार्कोमा रोकिनुपर्दैन । दुवैतर्फ सिधै अघि बढ्न सक्छन् । यसले थोरै भए पनि जाममा बस्ने समय घटाएकाे छ ।

तर, ग्वार्को चोकको जाम हटे पनि केही वरपरको सातदोबाटो र कोटेश्वर चोकमा भने झन् बढेको हो । ग्वार्कोमा नरोकी सिधै अगाडि बढेका सवारीहरू पूर्वतिर बालकुमारी, कोटेश्वर चोकमा र पश्चिमतिर सातदोबाटोमा थुप्रिने भएका छन् । साथै, चक्रपथकै एकान्तकुना, बल्खुचोकमा पनि सवारी चाप बढेको देखिन्छ ।

ओभरपासले ग्वार्कोको सवारी व्यवस्थापनमा क्षमता वृद्धि गर्यो । तर, २७ किलोमिटर लामो लामो चक्रपथको क्षमता वृद्धि भएन । जसकारण ग्वार्कोको जाम सातादोबाटो र कोटेश्वरतिर सरेको छ ।

अहिले चक्रपथ अन्तर्गत एकठाउँको जाम घटेको हो । पूरै चक्रपथको होइन । यसअघि कलंकीमा अण्डर पास बनाइएकाले उक्त क्षेत्रको जाम हटेको थियो ।

हाललाई अन्य ठाउँमा फ्लाइओभर/अण्डरपास बनाउने पैसा सार्वजनिक यातायातमा लगानी गरौं । जसबाट सार्वजनिक यातायात प्रणाली सुधारको थालनी हुन्छ ।

अब पूरै चक्रपथको जाम हटाउन हरेक चोकमा जाम हटाउनु आवश्यक छ । सरकारले यसअघि नै सातदोबाटो र एकान्तकुनामा पनि ओभरपास बनाउने घोषणा गरेको थियो । तर, अझै काम सुरू भएको छैन । अब तत्कालै ती ठाउँमा ओभरपास निर्माणको योजना अघि बढाउनु पनि उचित देखिन्न ।

थप ओभरपास बनाउन हतार नगरौं । केही समय ग्वार्को ओभरपासको अनुभव अध्ययन गरौं । यसको पूर्ण प्रयोग गरौं । ग्वार्को ओभरपास निर्माणबाट देखिएका सकारात्मक/नकारात्मक पाटोको विश्लेषण गरौं । अनि मात्र आगामी योजना अघि बढाऔं ।

पूर्वाधार मात्रै थपेर सवारी जाम व्यवस्थापन हुन्छ भन्ने सोच नै गलत हो । फ्लाइओभर, ओभरपास, अण्डरपास, फराकिलो सडक बनाउँदा अल्पकालीन रूपमा जाम कम हुन्छ । तर, यो दीर्घकालीन समाधान होइन ।

जाम व्यवस्थापन गर्ने पहिलो उपाय सडकमा सवारी संख्या कम गर्ने रणनीतिबाट सुरू हुन्छ । यसका लागि सबैभन्दा पहिला सार्वजनिक यातायात सुधार गर्नुपर्छ । जसले आममानिस निजी सवारी प्रति कम आकर्षित र सार्वजनिक यातायात प्रति धेरै आकर्षित हुन्छन् । यसको दीर्घकालीन समाधान सार्वजनिक यातायातमा राज्यको लगानी हो । यसमा दुईमत नै छैन ।

हाललाई अन्य ठाउँमा फ्लाइओभर/अण्डरपास बनाउने पैसा सार्वजनिक यातायातमा लगानी गरौं । जसबाट सार्वजनिक यातायात प्रणाली सुधारको थालनी हुन्छ । अब पनि राज्यले सार्वजनिक यातायातमा लगानी गर्न ढिला गर्न हुँदैन ।


Back_to_top