काठमाडौं । कोरियन ब्राण्ड कियाले भारतमा उत्पादन गरेको सेल्टोस एसयूभीलाई ७ वर्षपछि नयाँ जेनरेशनमा ल्याउने भएको छ । कम्पनीको सर्वाधिक सफल मध्येको एक सेल्टोसको नयाँ जेनेरेशन मोडल सन् २०२६ मा आउने भएको हो ।
अहिले भारत, कोरिया लगायतका देशमा नयाँ जेनेरेशन सेल्टोसको परीक्षण चलिरहेको छ । पूर्णरूपमा छोपेर परीक्षण भइरहेको एसयूभीमा नयाँ डिजाइनको एलईडी हेडल्याम्प, नयाँ डिजाइनकै फ्रन्ट ग्रिल र एयर इनटेक तथा भर्टिकल एलईडी डीआरएल दिएको देखिन्छ ।
आउँदै गरेको सेल्टोसको डिजाइन कियाको नयाँ ‘अपोजिट युनाइटेड डिजायन ल्याङवेज’मा बनेको हो । कम्पनीले यस एसयूभीमा ड्यूल टोन डिजाइनको अलोय ह्वील, ट्रायङगुलर सेपको रियर क्वाटर ग्लास, नयाँ डिजाइनको फ्रन्ट र रियर बम्पर दिएको देखिन्छ । साथै, नयाँ डिजाइनको टेलल्याम्प पनि यसमा पाउन सकिन्छ ।
कम्पनीले नयाँ सेल्टोसको साइजमा कुनै परिवर्तन गरेको छैन । यसको ड्यासबोर्ड र सेन्टर कन्सोलको डिजाइन भने परिमार्जन हुने अनुमान गर्न सकिन्छ । कनेक्टेड टेक फिचरको साथ आउने नयाँ जेनेरेशन सेल्टोसमा लेभल टु ड्राइभर असिस्ट सिस्टम (एडास) रहनेछ ।
कियाले पहिलो पटक सेल्टोसलाई अल ह्वील ड्राइभ सिस्टममा पनि उपलब्ध गराउने छ । अल ह्वील ड्राइभ मोडलको पछाडि इन्डिपेन्डेन्ट रियर सस्पेन्सन दिनेछ ।
त्यस्तै, पछिल्लो समय हाइब्रिड पावर ट्रेनको विश्वव्यापी माग बढेसँगै किया मोटर्सले नयाँ जेनेरेशन सेल्टोसलाई हाइब्रिड अप्सनमा पनि ल्याउने जनाएको छ । हाइब्रिड टेक्नोलोजीले माइलेज वृद्धि गर्दै प्रदूषण समेत कम गर्छ । कियाले हुन्डाई क्रेटामा जस्तै सेल्टोसमा पनि इलेक्ट्रीक पावरट्रेन समेत ल्याउने सम्भावना छ ।
कियाको नयाँ सेल्टोसमा १.५ लिटर पेट्रोल, १.५ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिन अप्सनमा उपलब्ध हुनेछ । साथै, हाइब्रिडमा पनि पेट्रोल इन्जिन हुनेछ ।


