इन्जिन विकासमा कुन कम्पनी के गर्दै ?, बीवाइडी र जिली पनि दौडमा

काठमाडौं । विद्युतीय कारको चर्चा र बिक्री बढ्दो क्रममा रहे पनि कार निर्माताहरूले इन्जिनको विकासमा पनि तीव्र गतिमा काम गरिरहेका छन् । अहिल्यै विश्वको कुनै पनि कार निर्माताले पेट्रोलियम इन्जिनको खाँचो नपर्ने ठोकुवा गर्न सकेका छैनन् ।

ईभी स्टार्टअपको रूपमा उदाएका कार निर्माताहरू पनि ईआरईभी विकासको लागि इन्जिनकै खोजमा जुटेका छन् । जसले मोबिलिटीको क्षेत्रमा इन्धन किफायती साधनको प्रयोगलाई जोड दिँदै आएको छ ।

अहिले जापानी ब्राण्ड टोयोटाले १.५ लिटर र २.० लिटर टर्बो इन्जिन विकासलाई तीव्र गतिमा अगाडि बढाएको छ । टोयोटाले आफ्ना हाइब्रिड भेहिकलको लागि साना र छरिता इन्जिन विकास गर्न लागेको हो ।

कार्बन उत्सजन कम गर्ने, थर्मल इफिसियन्सी बढाउने र सेन्थेटिक फ्युलको प्रयोग गर्न सक्ने किसिमको इन्जिन विकासमा टोयोटा केन्द्रित भएको छ ।

जापानी ब्राण्ड माज्दाले पनि आफ्नो स्काइएक्टिभ-जेड इन्जिनलाई थप परिमार्जित गर्दै इफिसियन्सी, स्मुद र उच्च माइलेज दिने बनाउन काम गरिरहेको छ ।

हुन्डाईले पनि नयाँ टर्बो इन्जिनको विकासलाई तीव्रता दिएको छ । कम्पनीले ल्याउने नयाँ इन्जिन हाइब्रिड भेहिकलको लागि उपयुक्त हुने बताइएको छ ।
मर्सिडिजले इलेक्ट्रीफाइड टर्बो इन्जिन विकासमा काम गरिरहेको छ । जुन ४८ भोल्ट माइल्ड हाइब्रिडमा आधारित रहनेछ । मर्सिडिजले आफ्नो नयाँ इन्जिनमा फर्मुला वान बाट प्रेरित थर्मल सिस्टम दिने जनाएको छ ।

जापानी ब्राण्ड होण्डाले पनि आफ्नो चल्तीका इन्जिनहरूलाई हाइब्रिड मोडलमा लाग्ने गरी परिमार्जन गरिरहेको छ । कम्पनी ई हाइब्रिड सिस्टमको साथ नयाँ इन्जिन बनाउने छ । यसको माइलेज उच्च हुन्छ भने इन्जिनको आयु पनि निकै लामो हुनेछ ।

निसानले भीसी टर्बो प्रविधिमा नयाँ इन्जिन बनाइरहेको छ । निसानको नयाँ इन्जिनले कम्प्रेसन रेसियो आफैँ परिवर्तन गर्ने क्षमता राख्छ । एउटै इन्जिनमा इन्धन बचत मोड र उच्च पर्फमेन्स मोड उपलब्ध हुनेछ ।

पर्फमेन्स ब्राण्ड पोर्शेले पनि ई-फ्युलमा आधारित नयाँ इन्जिन विकास गरिरहेको छ । कम्पनीको दाबी मान्ने हो भने नयाँ इन्जिनले पुराना र स्पोर्ट्स कारहरूलाई जीवित राख्न र कार्बन उत्सर्जन कम गर्न नयाँ इन्जिन उपयोगी बन्नेछ ।

चिनियाँ कार उत्पादक बीवाइडी र जिली जस्ता ब्राण्ड पनि इन्जिन विकासको दौडमा सामेल छन् । यी चिनियाँ उत्पादकहरूले आफ्नो हाइब्रिड कारको लागि नयाँ इन्जिनको विकास गरिरहेका हुन् ।

बीवाइडी र जिलीले आफ्ना ईआरईभीको लागि नयाँ इन्जिन विकास गरिरहेका हुन् । बीवाइडीको डीएम-आई सिस्टम पछिल्लो सफल इन्जिन मानिएको छ ।


Back_to_top