चिनियाँ ब्राण्डका पेट्रोल कार किन किन्दैनन् उपभोक्ता ?

काठमाडौं । चिनियाँ ब्राण्डका विद्युतीय सवारी साधनले नेपाली उपभोक्ताको मन जितिरहँदा पेट्रोलियम पदार्थबाट चल्ने चिनियाँ कारमा कुनै आकर्षण आउन सकेको छैन ।

अहिले चीनमा पेट्रोल कार उत्पादन र बिक्री गर्ने एमजी, चेरी, ग्रेटवाल मोटर्स, जिली जस्ता ब्राण्ड नेपालमा पनि छन् । यी ब्राण्डले उत्पादन गरेका विद्युतीय कार नेपाली उपभोक्ताको रोजाइमा परे पनि पेट्रोलियम पदार्थबाट चल्ने कारमा उपभोक्ताले विश्वास गर्न सकेका छैनन् ।

सन् २०१० ताका चिनियाँ ब्राण्डका आइसीई इन्जिन भएका थुप्रै ब्राण्डका गाडी नेपाल आएका थिए । तर, कुनै पनि ब्राण्डले राम्रो बिक्री पाउन सकेनन् । साथै, ती ब्राण्डका उत्पादन पनि क्रमिक रुपमा बन्द हुँदै गए ।

अहिले नेपालमा दुई दर्जन बढी ब्राण्डले विद्युतीय कार बिक्री गर्दै आएका छन् । उनीहरूले बिक्री गर्ने विद्युतीय कारमा उपभोक्ताले ढुक्कै विश्वास गरेको पाइन्छ । तर, पेट्रोलियम पदार्थबाट चल्ने कारमा विश्वासै छैन ।

अहिले ग्रेटवाल मोटर्स (जीडब्लूएम) बाहेक अन्य कुनै पनि ब्राण्डले पेट्रोलियम पदार्थबाट चल्ने चिनियाँ उत्पादन बिक्री गरिरहेका छैनन् । चिनियाँ आइसीई इन्जिन कारमा उपभोक्ताको विश्वास नहुनुको मुख्य कारण यस प्रकार छन् ।

कमजोर सर्भिस नेटवर्क

चिनियाँ ब्राण्डहरू नेपाल आएदेखि नै उनीहरूले बलियो नेटवर्क तयार पार्न सकेनन् । कमजोर नेटवर्क हुने बित्तिकै सर्भिसको सुविधा खुम्चियो । सहरी क्षेत्र बाहिर गएर गाडी बिग्रिएको खण्डमा सर्भिस पाउनै मुस्किल पर्ने भएको कारण उपभोक्ताले विश्वास गर्न सकेनन् ।

रिसेलमा मूल्य नपाउनु

बजारमा बिक्री नै कमजोर भएपछि रिसेल भ्यालू आउने कुरै भएन । सुरूमा महँगो मूल्य तिरेर किनेको गाडी बिक्री गर्दा आधा पनि रकम नआउने भएको कारण चिनियाँ पेट्रोलियम पदार्थबाट चल्ने कारमा उपभोक्ताले पैसा लगाउन चाहेनन् । अहिले पनि पुराना चिनियाँ कार बजारमा बिक्री गर्नै मुस्किल छ ।

पार्ट्स ल्याउन नसक्नु

भारतीय उत्पादनको तुलनामा चिनियाँ कारको लागि आवश्यक पार्ट्स पाउनै मुस्किल छ । पेट्रोलियम पदार्थबाट चल्ने कारमा मात्रै होइन अहिले बजारमा रहेका अधिकांश ईभी ब्राण्डका पनि पार्ट्स पाउन सकिँदैन । त्यसो हुनुमा बिक्रेताको पार्ट्स राख्ने क्षमता पनि पहिलो कारण हो । अर्को पार्ट्समा पैसा लगाउनै नचाहने व्यवसायीको कारण पनि पार्ट्समा समस्या देखिएको हो ।

पार्ट्सकै कारण २/३ महिनासम्म आफ्नो गाडी थन्काउनु पर्ने अवस्था विगतमा सृजना भएको कारण उपभोक्ताले चिनियाँ इन्जिन भएका गाडी किन्नै खोजेनन् ।

गुणस्तरको कमी

चीनमा बनेका गाडी अहिले पनि गुणस्तरको लागि चिनिदैनन् । चिनियाँ आइसीई इन्जिन भएका कारहरू कम आयु भएका मानिन्छन् । साथै, भारतमा उत्पादन भएका र जापानी कारहरूको तुलनामा अहिले पनि चिनियाँ आइसीई इन्जिन भएका कारले विश्वास आर्जन गर्न सकेका छैनन् ।


Back_to_top