काठमाडौं । संघीय राजधानी काठमाडौं । यो थोरै व्यक्तिको जन्मथलो हो भने अधिकांशको कर्मथलो । देशका ७७ जिल्लाकै मानिस यहाँ बसोबास गर्छन् । रोजगारी, व्यापार, स्वास्थ्य, शिक्षा लगायतको खोजीमा देशभरका मानिस यहाँ आउने गरेका छन् ।
सबैको साझा थलो काठमाडौंमा यात्र गर्न भने निकै असहज छ । पैदल, सार्वजनिक सवारी र निजी सवारी जेबाट यात्रा गर्दा पनि समस्या भोग्नुपर्छ । धेरैजसो ठाउँमा हिँड्नलाई फराकिलो फुटपाथ छैन । साँघुरो फुटपाथमा बिजुलीका पोल छल्दै हिँड्नुपर्छ । कतिपय अवस्थामा सडकबाटै असुरक्षित यात्रा गर्नुपर्ने बाध्यता छ । यद्यपि, पछिल्लो समय केही मुख्य सडकहरूमा भने व्यवस्थित र आकर्षक फुटपाथ निर्माण भइरहेको छ ।
सार्वजनिक सवारी चढ्यो, सकसै सकस छ । समयमै गन्तव्यमा पुगिँदैन । उभिएर/कोचिएर यात्रा गर्नुपर्छ । कतिपय अवस्थामा चालक, सहचालकबाट अपमानित हुनु र दुर्व्यवहार सहनुपर्छ ।
निजी सवारी हुनेले पनि घण्टौंसम्म जाममा फस्नुपर्ने अवस्था छ । यद्यपि, सार्वजनिक यातायातका यात्रुलेभन्दा कम समस्या झेल्नुपर्छ ।
साँघुरा सडक र अधिक सवारी संख्याका कारण सवारी व्यवस्थापन अस्तव्यस्त हुन्छ । सवारी साधनको अनुपातमा ट्राफिक प्रहरीको संख्या निकै कम छ । जसकारण ट्राफिक व्यवस्थापन गर्न निकै कठिन र चुनौतीपूर्ण छ ।
समयको गतिसँगै मानिस र सवारी साधन आ-आफ्नो गन्तव्यमा कुदिरहेका हुन्छन् । गन्तव्य पुग्ने हतारकै बीच चोकचोकमा रोकिनुपर्छ । विकसित मुलकुमा जस्तो ओभरपास/फ्लाइ ओभर, अण्डर पास नहुँदा चोकमा रोकिनुपर्ने बाध्यता छ ।
कष्टकर यात्राकै क्रममा काठमाडौंका सडकमा अनेक दृश्य देखिन्छन् । त्यस्तै दृश्य मध्येको एक हो ट्राफिक प्रहरीका गतिविधि ।चोकचोकमा ट्राफिक प्रहरी सवारी व्यवस्थापनमा व्यस्त देखिन्छन् । केही चोकमा ट्राफिक लाइट नै छैन भने, भएका चोकहरूमा पनि उनीहरूलाई भ्याइनभ्याइ हुन्छ । कतिपय चोकमा ट्राफिक लाइट नै निभाएर हातैले इसारा गरिरहेका हुन्छन् ।
हामी धेरैलाई त्यो दृश्य देख्दा अचम्म पनि लाग्छ । डिजिटल युगमा किन प्रविधिको प्रयोग नगरी हातैले काम गरिरहेका होलान । धेरैले सोच्छौं बत्ती बिग्रिएर हातैले इसारा गरेका होलान ।

तर, होइन कतिपय अवस्थामा ट्राफिक प्रहरीले जानाजानी ट्राफिक लाइट निभाएर हातैले काम गर्छन् । आखिर किन यस्तो गर्छन् त ?
ट्राफिक प्रहरीहरू भन्छन् लाइट निभाएर हातले इसारा गर्नु रहर होइन, बाध्यता हो । अधिक सवारी चाप भएका बेला ट्राफिक व्यवस्थापन गर्न यस्तो गरिने उनीहरू बताउँछन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता (प्रहरी उपरीक्षक) दीपक गिरी सवारी व्यवस्थापन प्रभावकारी बनाउनकै लागि ट्राफिक लाइट निभाइने बताउँछन् ।
सबैतिर उस्तै सवारी चाप नहुने भएकाले जता धेरै चाप छ उतैतर्फ सडक खुलाउन ट्राफिक लाइट निभाएर हातैले इसार गरिने उनले बताए ।
‘ट्राफिक लाइट निश्चित समयसम्म बल्छ । सामान्य अवस्थामा हुने चापका आधारमा हरियो र रातो बत्ती बल्ने गरी सेटिङ गरिएको हुन्छ । साेही अनुसार अटोमेटिक बल्छ,’ उनले मेरो अटोसँग भने, ‘सामान्य अवस्थामा लाइटले नै काम गर्छ । तर, अफिस टाइम, सडक प्रदर्शन/आन्दोलन बेला कुनै चोकहरूमा अत्याधिक चाप हुन्छ । त्यस्तो बेलामा ट्राफिक लाइट निभाएर हातको इसारामा सवारी आवतजावत गराइन्छ ।’
ट्राफिक लाइट निभाएर हातले इसारा गर्दा सवारी व्यवस्थापनमा सहज हुने उनले बताए । ‘लाइट अनुसार सवारी आवतजावत गराउँदा चाप नभएकोपट्टी सडक खाली हुने र धेरै भएको पट्टी लामो जाम हुने अवस्था आउँछ,’ प्रवक्ता गिरीले भन्छन्, ‘तर, हातले इसारा गर्दा जता धेरै सवारीको क्यू हुन्छ, त्यता खुलाइन्छ । कम भएपट्टी केहीबेर रोकिन्छ । फिल्डमा खटिएका प्रहरीले नै अवस्था हेरेर काम गर्छन् ।’ यद्यपि, एउटै चोकमा लामो समयसम्म सवारीसाधन रोक्न नहुने उनको भनाइ छ । कुनै ठाउँमा भएका लाइट बिग्रिएको अवस्थामा पनि हातकै इसाराबाट सवारी व्यवस्थापन गरिने उनको भनाइ छ ।
ट्राफिक लाइटले काम गर्दा पनि केही चोकमा भने ५ मिनेट बढी कुनुपर्ने बाध्यता छ । जडीबुटी, कोटेश्वर, बानेश्वर लगायत चोकमा ५ मिनेटसम्म रातो बत्ती बल्छ । जडिबुटी चोकमा नरेफाँटबाट पेप्सीकोलातर्फ जान, कोटेश्वर चोकमा बालकुमारीतर्फबाट जडीबुटीतर्फ जान ५ मिनेट कुनुपर्ने अवस्था छ । त्यस्तै, काठमाडौंका अन्य चोकहरूमा पनि ३/४ मिनेट लाइटमा रोकिनु सामान्य जस्तै हो । कम सवारी फ्लो हुनेतर्फ केही मिनेट रोकिने गरी लाइट मिलाउने गरिएको ट्राफिक प्रहरी बताउँछन् ।

