काठमाडौं । तपाईंले कारको टर्न इन्डिकेटर प्रयोग गर्दा ‘टिक-टिक’ आवाज आएको अनुभव गर्नु भएकै होला । हरेक चालकलाई इन्डिकेटर बाल्दा यस्तो आवाज ‘फ्यामिलियर’ नै लाग्छ ।
हरेक दिन गाडी चलाउँदा सुनिने भएको कारण सबैलाई यो आवाज फ्यामिलियर लागेको हो । आजकल सुरक्षाको लागि भन्दै कारमा एकपछि अर्को फिचर आइरहेको छ । तर, यो निकै पुरानो टिक-टिक आवाजलाई किन निरन्तर राखिएको होला ?
यसका केही कारण छन् । ती कारणहरू हामीले यहाँ केलाउने प्रयास गरेका छौं ।
१. चालकलाई अलर्ट गराउन सजिलो : टिक-टिक आवाज आउने भएको कारण चालकलाई यसले दुवैतर्फ हेर्न अलर्ट गराउँछ । धेरैजसो चालकले टर्न इन्डिकेटर बालेर गाडीलाई लेन परिवर्तन गराएपछि पनि इन्डिकेटर बन्द गर्दैनन् । यो आवाजले चालकलाई इन्डिकेटर बन्द गर्न सम्झाउँछ ।
२. कसरी आउँछ आवाज : टर्न इन्डिकेटरको प्रयोगगर्दा आउने आवाज आजकल टेक्नोलोजीमा परिणत भइसकेको छ । पहिले पुरानो टोक्नोलोजीका कारमा सानो फलामको पाता प्रयोग भएको थियो । उक्त पातामा इन्डिकेटर दिँदा ठोकिएर आवाज आउँथ्यो ।
आजकलको मोर्डन कारमा त्यस्तो फलामको पाता प्रयोग हुँदैन । पाताको स्थान माइक्रो चिप्सले लिइसकेको छ । चिप्सहरूले आवाज निकाल्दैनन् । तर, कार उत्पादकले स्पीकरको प्रयोगबाट टिक-टिक आवाज निकाल्छन् ।
३. सुरक्षामा पनि अब्बल : टिक टिक साउण्डले सुरक्षामा पनि अब्बल भूमिका निर्वाह गर्छ । यसरी निस्कने आवाजले तपाईंको कारमा रहेको टर्न इन्डिकेटरहरू दुरुस्त छन् भन्ने एकिन दिलाउँछ । इन्डिकेटर बाले पनि तपाईंको पछाडि र दायाँ–बायाँ गुडिरहेका गाडीका चालकलाई पनि सचेत गराउँछ । जसले सडक दुर्घटना कम गर्न सहयोग गर्छ ।

