किन बिक्दैनन् पेट्रोल कार ? यी हुन् ५ कारण

काठमाडौं । पछिल्ला दुई वर्षलाई हेर्ने हो भने पेट्रोलियम पदार्थबाट चल्ने कारको बिक्रीमा उच्च गिरावट आयो । अघिल्लो वर्ष ६० प्रतिशत हाराहारी ईभी बिक्री भएको बजारमा अहिले ७० प्रतिशतभन्दा माथि पुग्ने देखिएको छ ।

भारतीय बजारमा पेट्रोल कारको बिक्री तिब्र गतिमा बढ्दा नेपालमा भने पेट्रोलियम पदार्थबाट चल्ने कारको बिक्रीमा उच्च गिरावट आएको छ । यसरी बिक्री गिरावट आउनुमा एउटा मात्रै कारण छैन ।

नेपाल सरकारले पेट्रोल कारमा लगाएको उच्च करको कारण पेट्रोल कारको मूल्य ईभीको तुलनामा दोब्बर महंगो लाग्छ । साथै, फिचरका हिसावले पनि पेट्रोलियम पदार्थबाट चल्ने कारहरु कमजोर हुने भएको कारण धेरैले आफ्नो पहिलो कार नै ईभी बनाउन थालेका हुन् ।

केही वर्ष अघिसम्म घरमा पेट्रोलियम पदार्थबाट चल्ने कार हुने मानिसले मात्रै ईभी किन्ने गरेका थिए । अहिले समय फेरिएको छ । पहिलो कार किन्नेले पनि ईभी नै छनोट गरिरहेका छन् । यस्तोमा पेट्रोलियम पदार्थबाट चल्ने कारको बिक्री कमजोर हुनुको मुख्य ५ कारण हामीले यहाँ प्रस्तुत गरेका छौं ।

फाइनान्स सुविधा कठिनः पेट्रोलियम पदार्थबाट चल्ने कारहरुमा बैंकले फाइनान्स सुविधालाई पनि कडा बनाएका छन् । नेपाल राष्ट्र बैंकले नै निजी कार किन्नेले मूल्यको अनिर्वाय ५० प्रतिशत रकम डाउन पेमेन्ट वापत बुझाउनु पर्ने ब्यवस्था गरेको छ ।

एउटा सामान्य कार किन्नै १५ देखि २० लाख रुपैयाँ सुरुमा नै बुझाउनु पर्ने भएपछि पेट्रोल कार बिक्री नभएको हो । जबकी ईभी किन्न ५ लाखदेखि नै डाउन पेमेन्ट गर्दा सकिन्छ । ईभीको लागि २० प्रतिशत डाउन पेमेन्ट गर्दा पुग्छ । यहि कारण पनि पेट्रोल कार किन्ने मानिस भेटिदैनन् ।

उच्च करः पेट्रोल कारमा सरकारले २५१ देखि ३५० प्रतिशतसम्म कर लगाएको छ । पेट्रोलियम पदार्थबाट चल्ने कारको सीसी अनुसार ६० देखि ११० प्रतिशतसम्म अन्तःशुल्क र ८० प्रतिशत भन्सार लगाइएको कारण मूल्य महंगो भएको हो ।

ईभी बिकल्प बन्दैः पेट्रोल कारको विकल्पमा ईभीहरु आएसँगै यसको बिक्री बढ्यो । ईभीको बिक्री बढ्नुमा पहिलो कारण मूल्य नै बन्यो । पेट्रोल कारको तुलनामा कम मूल्यमा ईभी उपलब्ध भएपछि उपभोक्ताले यसलाई रोजेका हुन् । साथै, चलाउन सहज र संचालन खर्च पनि अत्यन्त न्यून भएपछि पेट्रोल कारको बिक्री कमजोर बन्दै गएको हो ।

महंगो पेट्रोलियम पदार्थः पेट्रोलियम पदार्थको मूल्य तिब्र गतिमा तलमाथि हुने र त्यसमै सहज हुने भएकाले सरकारले कर पनि त्यसमा थोपर्ने कारण उपभोक्त आजित भएका छन् । त्यसैले उनिहरु पेट्रोलियम पदार्थको विकल्प खोजिरहेका थिए । त्यहि समयमा आएका ईभीले सहर केन्द्रित उपभोक्ताको मन जित्यो ।

झन्झटिलो कानुनः पेट्रोलियम पदार्थबाट चल्ने नयाँ कार किन्ने वित्तिकै प्रदुषण चेकजाँच गर्न लानु पर्ने हुन्छ । त्यसमा ईभीले प्रदुषण नगर्ने र परिक्षण पनि गर्नु नपर्ने भएको कारण धेरै मानिसले ईभी छनोट गरेका हुन् । त्यसमा पेट्रोलियम पदार्थबाट चल्ने कारहरुमा महंगो वार्षिक कर लगाइएको कारण पनि धेरैको छनोट फेरिएको हो ।


Back_to_top