यी ५ महिला जसले विश्व अटोमोबाइल क्षेत्रमा आफ्नो अलग पहिचान बनाए

काठमाडौं । भोलि विश्व महिला दिवस । यस दिनलाई महिला सशक्तिकरणका हिसाबले मनाउने गरिन्छ । विश्व अर्थ राजनीतिक वृत्तमा सफल महिलालाई सधैं यस दिन सम्झने गरिन्छ ।

आधुनिक अर्थतन्त्रको मेरुदण्डको रूपमा विकास भएको अटोमोबाइल क्षेत्रमा पनि लाखौं महिला काम गर्छन् । ती महिलाहरूले आफ्नो व्यवसायिक जीवनमा ठूलो सफलता हात पार्न सफल भएका होलान् । यसरी सफलता हात पार्दै व्यवसायिक नेतृत्व गर्ने महिलाहरूको जीवनीले अन्य धेरैलाई प्रेरिरत गर्न सक्छ ।

त्यसैले हामीले यहाँ अटोमोबाइलक्षेत्रका सफल ५ महिलाको विषयमा यहाँ उल्लेख गरेका छौं ।

१. वर्था बेञ्ज

मर्सिडिज बेञ्जका संस्थापक कार्ल बेञ्जका पत्नी वर्था बेञ्ज मर्सिडिज बेञ्जको स्थापनाकालदेखि नै चर्चामा रहेकी महिला हुन् । उनले आफ्नो पतिको सपना साकार गर्न पहिलो कार डिजाइनमा ठूलो धनराशी खर्च गरेकी थिइन् भने त्यसको प्रचारप्रसारको जिम्मा पनि आफैँ लिएकी थिइन् । सुरूवाती दिनमा मानिसहरूको आशंका मेटाउन उनले कारको बारेमा सचेतना जगाएकी थिइन् । उनले त्यति बेला आफ्नो दुई बच्चालाई कारमा राखेर गरेको यात्रा एउटा ठूलो प्रचारको विषय बनेको थियो ।

१३० वर्षअघि उनले गाडी चलाएको १९३ किलोमिटर लामो हाइवेलाई अहिले पनि ‘वर्था बेञ्ज मेमोरियल रुट’ नामले चिनिन्छ ।

२. मैरी वार्रा

मैरी वार्रा जनरल मोटर कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन् । सन् २०१४बाट उनले जनरल मोटरको नेतृत्व गरिरहेकी छिन् । अटोमोबाइल कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको उच्च पदमा पुग्ने वार्रा पहिलो महिला हुन् । सन् २०१६ देखि उनि जनरल मोटर्सको निर्देशक मण्डलको अध्यक्ष समेत रहँदै आएकी छिन् ।

सन् १९८० मा जनरल मोटर्समा नियुक्त भएकी वार्रा ग्लोवल प्रोडक्ट डेभलपमेन्ट, ग्लोबल सप्लाई चेन, प्लान्ट मेनेजर जस्ता पदमा रहेर काम गर्दै अगाडि आएकी हुन् । फोब्र्स र फर्चुन जस्ता पत्रिकाले उनलाई विश्वको शक्तिशाली महिलाको सूचीमा राखेका छन् ।

३. एलेना फोर्ड

एलेना फोर्ड अमेरिकी फोर्ड कम्पनीमा चिफ एक्सपीरियन्स अफिसरको रूपमा कार्यरत छिन् । हेनेरी फोर्डको परिवारीक विरासतबाट आएकी उनले सन् १९९५ बाट फोर्डमा काम सुरू गरेकी हुन् ।

आफ्नो क्यारियरको २६ वर्ष फोर्डमा बिताएकी उनले ग्लोबल मार्केटिङ, सेल्स एण्ड सर्भिसको निर्देशक, ग्राहक अनुभव, ग्लोबल डिलर, फोर्ड पास, लिंकन वे एप, ब्राण्डिङ, मार्केटिङ जस्ता क्षेत्र र विभागमा उनले काम गरेकी छिन् ।

४. बारबरा समरजिच

बारबरा समरचिज पनि अटोमोबाइल क्षेत्रमा सफल नाम हो । फोर्ड यूरोपको चिफ अपरेटिङ अफिसरसम्मको यात्रा गरेकी उनि सन् २०१६ देखि सेवानिवृत भइसकेकी छिन् । विशेषत गाडीको सुरक्षा, क्वालिटी, वातावरणीय सन्तुलन, गाडीको उत्पादन र विकासमा उनको खास रुची थियो ।

आफ्नो २६ साल लामो व्यवसायिक जीवनमा गाडीको इन्जिन विकास, संचालन र ग्राहकमैत्री डिजाइनमा उनको ठूलो भूमिका रहेको थियो । उनलाई अटोमोबाइल क्षेत्रमा यूरोपको सफल २५ महिलाको सूचीमा राखेर हेरिन्थ्यो ।

५.सुबी घोष

सुबी घोष स्ट्रीम कम्पनीमा मार्केटिङ भाइस पे्रसिडेन्ट र वोमेन इन अटोमोटिभ नामक संस्थाको संस्थापक सदस्य हुन् । यो संस्थाले महिलाहरूलाई अटो क्षेत्रमा सशक्त र विकसित गर्ने गर्छ ।

यो संस्थाले महिलालाई मोटर विक्री गर्ने डिलरमा प्रशिक्षण दिने काम समेत गर्छ । यो प्रशिक्षणले महिलालाई आफ्नो काममा निःपूर्ण बनाउनुको साथै भविष्यमा हुनसक्ने प्रमोशनको लागि पनि तयार हुन सहयोग गर्दै आएको छ । लामो व्यवसायिक जीवन अटोमोबाइलमा बिताएकी घोष अहिले पनि महिला सशक्तिकरणमा लागि परेकी छिन् ।


Back_to_top