जयनगर-बर्दिबास रेलमार्गको मुआब्जा विवाद समाधान, काम सुरू

काठमाडौं । जयनगर-बर्दीबास रेलमार्ग निर्माणले गति लिएको छ । मुआब्जा सम्बन्धी विवाद समाधान भएसँगै जयनगर-बर्दिबास १८ किलोमिटर रेलमार्ग निर्माणले तीव्रता पाएको हो ।

आगामी २ वर्षभित्र बर्दिबाससम्म जयनगर-बर्दिबास रेल सेवा संचालन गर्ने लक्ष्यका साथ निर्माण कम्पनी इरकन इन्टरनेसनलले काम थालेको हो ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीले जग्गा मुआब्जा सम्बन्धी विवाद समाधान भएसँगै रेलमार्ग निर्माणको कामले गति लिएको बताए । उनका अनुसार हाल धनुषा र महोत्तरीमा धमाधम ट्रयाक निर्माण भइरहेको छ ।

‘जग्गा मुआब्जा सम्बन्धी विवाद समाधान भएसँगै रेलमार्ग निर्माणको कामले गति लिएको छ । हाल धमाधम ट्रयाक निर्माण भइरहेको छ,’ उनले भने ।

जयनगर-बर्दिबास रेलमार्गको कुल लम्बाइ ७० किलोमिटर छ । जसमा जयनगरदेखि नेपालको कुर्थासम्मको ३४.९ किलोमिटर रेलमार्ग भारतले निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसकेको छ । उक्त रुटमा २०७८ चैत १९ गतेदेखि नियमित रुपमा रेल सेवा संचालन हुँदै आएको छ ।

जयनगर-बर्दिबास रेलमार्ग नेपाल र भारतबीचको महत्वपूर्ण सीमापार रेल परियोजना हो । यो ब्रोडगेज रेलमार्ग नेपाल-भारत द्विपक्षीय सहकार्यअन्तर्गत निर्माणाधीन । यो परियोजनाले दुई देशबीचको आवागमन, व्यापार तथा आर्थिक गतिविधिलाई सहज बनाउनुका साथै नेपालको रेल पूर्वाधार विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।


Back_to_top