काठमाडौं । सेडान कारको बिक्रीमा विश्वव्यापी रुपमा गिरावट आइरहेको छ भने दक्षिण एसियाली बजारमा पनि सेडान कारको बिक्रीमा उच्च गिरावट आई रहेको छ । नेपाली बजारमा पनि सेडान कारको बिक्री नगन्य मात्रमा रहेको छ ।
यद्यपी विश्व बजारमा सन् २०१८ मा ८ करोड ६० लाख यूनिट कार, जीप भ्यान बिक्री भएको थियो । त्यसमा सर्वाधिक बिक्री भएको मोडल टोयोटा कोरोला हो । टोयोटाले आफ्नो चर्चित सेडान कार कोरोला ३० लाख युनिट बिक्री गरेको थियो । नेपाली बजारमा कुनै समय टोयोटा कोरोला प्यासेन्जर कारदेखि ट्याक्सीसम्म प्रयोगमा थियो । अहिले कोरोला सेडानको माग सुन्य प्रायः छ ।
विश्वमा बिक्री हुने कारमा एसयूभीको हिस्सा ३६ प्रतिशत रहेको छ भने करिब २९ प्रतिशत ह्याचव्याकले ओगटेको छ । त्यस्तै १७ प्रतिशत बजार हिस्सा सेडान कारको रहेको छ । यसका अलावा एमपीभीको ७.३ प्रतिशत, पिकअपको ६.४ प्रतिशत बजार हिस्सा रहेको छ ।
सन् २०१८ एसयूभी बिक्री
सन् २०१८ मा प्यासेन्जर कार सेग्मेन्टमा एसयूभीको हिस्सा ३६ प्रतिशत रहेको थियो । जुन २०१७ को तुलनामा ७ प्रतिशतले बढी हो ।
सन् २०१८ मा २ करोड ९० लाख ७७ हजार यूनिट एसयूभी बिक्री भएकोमा सर्वाधिक बिक्री हुने सूचीमा कम्प्याक्ट एसयूभी परेको छ । जसको बिक्री १ करोड २० लाख ३० हजार यूनिट रहेको छ भने मिडसाइज एसयूभीको बिक्री ७० लाख २० हजार यूनिट रहेको छ । स्मल एसयूभीको बिक्री ६० लाख ६० हजार यूनिट हुँदा प्रिमियम एसयूभीको बिक्री पनि ३० लाख ७० हजार यूनिट रहेको छ ।
इलेक्ट्रीकमा ७४ प्रतिशतको वृद्धि
सन् २०१८ मा इलेक्ट्रीक कारको बिक्रीमा ७४ प्रतिशतले वृद्धि भएको थियो । विश्वको ३० प्रतिशत कार चीनमा खपत हुने भएकाले इलेक्ट्रीक कारको खपत बढेको अनुमान लगाउन कठिन छैन । गतवर्ष चीनमा कुल २ करोड ८० लाख ८ हजार यूनिट कार बिक्री भएको थियो । त्यसमा ७ लाख ६९ हजार यूनिट इलेक्ट्रीक कार थिए ।
सन् २०१८ मा इलेक्ट्रीक कारको बिक्री १२ लाख ६१ हजार यूनिट भएकोमा चीनमा ७ लाख ६९ हजार, अमेरिकामा २ लाख ९ हजार, नर्वे ४६ हजार, जर्मनी ३५ हजार र फ्रान्समा ३१ हजार यूनिट बिक्री भएको थियो । यी बाहेक १ लाख ७१ हजार इलेक्ट्रीक कार विश्वको अरु बजारमा बिक्री भएका थिए ।

