काठमाडौं । चिनियाँ मोटर उत्पादक कम्पनी विलिङले विङ्गो प्लस मोडलको तस्विर सार्वजनिक गरेको छ । कम्पनीले देखाएको नयाँ मोडलको सिधा प्रतिस्पर्धा बीवाइडी डल्फीनसँग हुने चिनियाँ मिडियाले उल्लेख गरेका छन् ।
डल्फीनसँग यसको तुलना हुनुमा पहिलो कारण यसको साइज, मोटर पावर र ब्याट्रीलाई लिइएको छ । कम्पनीले यसलाई ४०९० एमएम लम्बाई, १७२० एमएम चौडाई र १५७५ एमएम उचाईमा ल्याउने भएको हो । जुन विलिङ कै विङ्गो मोडलभन्दा ठूलो हो ।
विलिङले विङ्गो प्लस मोडलमा ७५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिएको छ । यसले अधिकतम १८० एनएम टर्क प्रदान गर्छ । ब्याट्री भने यसमा ५०.६ किलोवाट आवरको छ । यसले सिंगल चार्जमा ४०० किलोमिटर माथि रेन्ज दिने मिडिया रिपोर्टहरुले दावी गरेका छन् ।
कम्पनीले आधिकारीक रुपमा यसको तस्बिरहरु बाहिर ल्याएपनि मूल्यको विषयमा कुनै जानकारी दिएको छैन । सम्भवत चीनमा यसको मूल्य १४ हजार डलर आसपास रहने अनुमान गरिएको छ ।

यसको अगाडि क्लोज ग्रिल दिइएको छ, जसले यसलाई सहजै इलेक्ट्रीक कार भनेर चिनाउँछ । फरक किसिमकाे हेडलाइट, ५ स्पोक ह्वील, पृथक डिजाइनको टेलल्याम्प, ड्यूल कलर बडी यसमा पाउन सकिन्छ ।
विलिङ विङ्गो नेपाली बजारमा ल्याउने तयारी भइरहेको समयमा चीनमा विङ्गो प्लस मोडल बाहिर आउने नेपालको सरोकारवाला पक्षको लागि पनि सुखद समाचार हुन सक्छ ।

