अग्नीले ११० किलोवाट मोटर भएको महिन्द्रा एक्सयूभी ४०० ईभी बेच्ने

काठमाडौं । नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नी इनकर्पोरेटले महिन्द्राको इलेक्ट्रीक एसयूभी एक्सयूभी ४०० को अधिकतम खुद्रा मूल्य प्रकाशित गरेको छ । अग्नीले आज प्रकाशित गरेको मूल्य अनुसार महिन्द्रा एक्सयूभी ४०० को ईएल भेरियन्ट ५२ लाख ५० हजार रुपैयाँमा बिक्री गर्ने भएको हो ।

अग्नीले चाँडै बिक्री सुरू गर्ने ईएल भेरियन्टमा ११० किलोवाट पिकपावर भएको इलेक्ट्रीक मोटर रहेको छ । सो गाडी केही दिन अघि परीक्षणका क्रममा काठमाडौंको सडकमा देखिएको थियो ।

११० किलोवाट मोटर भएको ईभी भन्सारदरको तेस्रो स्ल्याबमा पर्छ । यसमा भन्सार ३० प्रतिशत र अन्तःशुल्क २० प्रतिशत रहेको छ ।

नेपालमा अन्य ईभी आयातकर्ताले विदेशी बजारमा रहेको १०० किलोवाट भन्दा बढी पिक पावर भएको इलेक्ट्रीक मोटरको सट्टा १०० किलोवाटभन्दा कम पावर भएको ईभी मोडल आयात गर्ने गरेका छन् । तर महिन्द्राको एक्सयूभी ४०० भने ११० किलोवाटकै मोटरमा भित्रीएको हो ।



उदाहरणको लागि टाटा नेक्सन इभी भारतमा १०६.४ पिकपावर रहेकोमा नेपालमा १०० किलोवाट पिकपावर भएको छ । एमजीको जेडएस ईभीमा बाहिर ११५ किलोवाटको मोटर रहेकोमा नेपालमा ९९ किलोवाट रहेको छ ।

त्यस्तै, बीवाइडीको एटो३ चीनमा १५० किलोवाट भएकोमा नेपालमा १०० किलोवाट रहेको छ । अर्को ठूलो साइजको ईभी दिपलको एस०७ चीनमा १६३ किलोवाट रहेकोमा नेपालमा ९९ किलोवाट मात्र रहेको छ । नेपालको भन्सारदर अनुसार ५० देखि १०० किलोवाट पिक पावर भएको ईभीमा १० प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क मात्र लाग्ने गर्छ ।

साइजका हिसाबले टाटा नेक्सन ईभीभन्दा ठूलो र एमजी जेडएस ईभीभन्दा केही सानो एक्सयूभी ४०० आकर्षक फिचरले भरिपूर्ण एसयूभी हो । महिन्द्राले ईएल भेरियन्टमा ३९.४ किलोवाट आवरको ब्याट्री दिएको छ । एआरएआईका अनुसार ईएलके ब्याट्रीले ४५६ किलोमिटरको रेन्ज प्रमाणित गरेको छ ।

महिन्द्राले एक्सयूभी ४०० लाई फिचर लोडेड बनाउन अटो डिमिङ आइआरभीएम, भेन्टिलेटेड सिट, क्रुज कन्ट्रोल, इलेक्ट्रोनिक पार्किङ ब्रेक, फग लाइट जस्ता फिचर दिएको छ ।

यसको क्याबिनमा नयाँ १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस एण्डरोइड अटो र एप्पल कारप्ले सपोर्ट गर्ने नयाँ १०.२५ इन्चको डिजिटल टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस चार्जिङ प्याड, रियर एसी भेन्ट, ड्युल जोन क्लाइमेट कन्ट्रोल, पुस बटम स्टार्ट स्टप, कीलेस इन्ट्री, टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता लेटेस्ट फिचर छन् ।

एक्सयूभी ४०० मा फन (इको), फास्ट (नर्मल) र फेयरलेस (स्पोर्टस) गरी तीनवटा ड्राइभिङ मोड रहेको छ ।


Back_to_top