काठमाडौं । यामाहा एफजेड २५ को एबीएस भर्सन नेपाली बजारमा भित्रने भएको छ । यामाहा एफजेड २५ यो सेग्मेन्टमा लोकप्रिय रहेको मोटरसाइकल हो ।
भारतीय बजारमा यो मोटरसाइकल एबीएस भर्सनमा केही समय अगाडि सार्वजनिक भएको थियो । नेपाली बजारमा भने यो मोटरसाइकल दशैं र तिहारको समयमा सार्वजनिक गर्ने तयारी भइरहेको यामाहाको लागि नेपालको आधिकारीक वितरक एमएडब्ल्यूले जनाएको छ ।
एफजेड–२५ नेकेड स्ट्रीट फाइटरका रुपमा परिचित रहेको छ । यसको पावर तथा पर्फमेन्सलाई युवा वर्गले मन पराएको पाइन्छ ।
यो मोटरसाइकलमा २४९ सीसी एयर कुल्ड एसओएचसी फ्युल इन्जक्टेड इन्जिन दिएको छ । जसले ८ हजार आरपीएममा २०.९ पीएस पावरका साथै ६ हजार आरपीएममा २० एनएम टर्क उत्पादन गर्छ । याे बाइकको इन्जिनमा पाँच स्पीड ट्रान्समिसन दिइएको छ ।
याे मोटरसाइकलमा एलइडी हेडलाइट, टिएफटी इन्स्ट्रुमेन्ट क्लस्टर, स्प्लिट सिट, वाइड प्रोफाइल टायर लगाइएको छ । यो मोटरसाइकलमा १७ इन्च आलोय ह्वील, टेलिस्कोपीक फ्रन्ट फर्क र रियर मनोसक लगाइएको छ ।
यस बाइकको सिधा प्रतिस्पर्धा बजाज पल्सर एनएस २००, टीभीएस अपाची आरटीआर २०० फोर भी, केटीएम डुक २०० जस्ता बाइकसँग हुने छ ।
हाल नेपाली बजारमा बिक्री भइरहेको नन् एबीएस भर्सनको मूल्य ३ लाख ८९ हजार रुपैयाँ रहेको छ । अब एबीएस भर्सन आउँदा ४ लाख १४ हजार रुपैयाँ पर्ने अनुमान गरिएको छ ।


