काठमाडौं । सडक विभागले अहिले सडक सुरक्षाका लागि भन्दै सडकमा थर्मो प्लास्टिक रोड मार्किङ्ग–पेन्ट गर्ने योजना बनाएको छ । तर, त्यसकालागि आवस्यक बजेट व्यवस्था नभएकाले थप ५ करोड रुपैयाँ अर्थमन्त्रालयसँग माग गरिएको हो ।
सडक विभाग अन्तर्गतको सडक सुरक्षा तथा ट्राफिक शाखाका सिनियर डिभिजनल इन्जिनियर दीप बाराहीका अनुसार यस विषयमा सडक विभाग र अर्थ मन्त्रालयबीच अहिले छलफल भैरहेको छ । थप कामका लागि ५ करोड रुपैयाँ माग गरिएको समेत उनले बताए ।
विभागले अहिले सिंहदरबार, बागबजार, कालिमाटी, तिनकुने, मित्रपार्क, पद्मोदयमोड, थापाथली, गौशाला र पुरानो बानेश्वरमा ट्राफिक लाइट जोड्ने काम गरिरहेको इन्जिनियर बाराहीले मेरोअटोलाई बताए ।
उनकाअनुसार बजेट स्वीकृत हुनेवित्तिकै विभागले थप काम सुरु गर्नेछ । यसै आर्थिक वर्ष (आव २०७५–०७६) भित्रमा सक्ने गरी विभागले थप काम गर्न लागेको हो । थप कामअन्तर्गत विभागले उपत्यकाभित्रका सबै सडकहरूमा जेब्राक्रस राख्ने, सेन्टर तथा मार्र्किङ्ग–लाइन राख्ने, ट्राफिक चिह्न तथा ट्राफिक लाइटहरू सबैजसो चोकहरूमा राख्ने कामहरू गर्नेछ ।
ट्राफिक लाईट धमाधम
अबको केही महिनाभित्रैमा उपत्यकाभित्रका सबै चोकहरूमा ट्राफिक लाइट झलमल्ल बल्ने भएको छ । सडक विभागअन्तर्गतको सडक सुरक्षा तथा ट्राफिक शाखाले अहिले उपत्यकाका मुख्य चोकहरूमा ट्राफिक लाइट जडान गर्ने काम धमाधम भैरहेको जानकारी दिएको छ ।
विभागले अहिले सिंहदरबार, बागबजार, कालिमाटी, तिनकुने, मित्रपार्क, पद्मोदयमोड, थापाथली, गौशाला र पुरानो बानेश्वरमा ट्राफिक लाइट जोड्ने काम गरिरहेको इन्जिनियर बाराहीले मेरोअटोलाई बताए ।
प्रजिल कन्स्ट्रक्सनले चार महिनामा सबै चोकमा काम सक्ने गरी अहिले काम गरिरहेको उनले जानकारी दिए । नयाँ वर्षबाटै उपत्यकाका सबैजसो चोकहरूमा ट्राफिक लाइट बल्छन्, उनको दावी थियो ।
धूलो–धूवाँका कारण ट्राफिक लाइटमा समस्या
शाखाले उपत्यकाका दुई चोकहरूमा नेपाली प्राविधिकहरूबाटै तयार भएको ट्राफिक लाइट जडान गरेको थियो । नयाँ बानेश्वर चोक र महाराजगञ्जमा जडित उक्त लाइट धेरैजसो त बल्दैनन्, अर्थात् थोरै समयमात्रै बलेको देखिन्छ ।
धूलो–धूवाँका कारण कहिलेकाहिँ ट्राफिक लाइट बिग्रिए पनि दक्ष प्राविधिकहरूले बिग्रिएका लाइटहरूको तत्कालै मर्मत गर्ने र सडकमा बाल्ने गरेको इन्जिनियर बाराहीले दावी गरे ।
व्यस्त चोकहरूमा अव्यवस्थित भीडभाड नियन्त्रणका लागि ट्राफिक लाइटको भूमिका उलेख्य हुन्छ । तर, व्यवस्थित ट्राफिक लाइटको अभावमा ट्राफिक सुरक्षा निकै नै फितलो हुने गरेको छ । ट्राफिक लाइटको प्रयोगबिना ट्राफिक सुरक्षा दिलाउन खटिएका ट्राफिक प्रहरीहरूलाई पनि हम्मेहम्मे देखिन्छ ।
उता, नेपाली प्राविधिकले बनाएको ट्राफिक लाइटमा खासै समस्या नदेखिएको सडक विभाग बताउँछ । धूलो–धूवाँका कारण कहिलेकाहिँ ट्राफिक लाइट बिग्रिए पनि दक्ष प्राविधिकहरूले बिग्रिएका लाइटहरूको तत्कालै मर्मत गर्ने र सडकमा बाल्ने गरेको इन्जिनियर बाराहीले दावी गरे ।
दुर्घटना कम गर्न रोप्वे बेरियर
त्यस्तै, विभागले सडक सुरक्षाका दृष्टिकोणले अति संवेदनशील नौबिसे–मुग्लीन सडकखण्डमा बेरियर पनि राख्दैछ । इन्जिनियर बाराहीकाअनुसार यसलगायत विभागले खुर्कोट–मन्थली सडकखण्ड, ओखलढुङ्गा–सोलुखुम्बु सडकखण्डलगायतका अति संवेदनशील सडकहरूमा सुरक्षाका लागि रोप्वे बेरियर राख्ने जनाएको छ ।
विभागले गत चाडपर्वलाई लक्षित गर्दै पहिलोपटक मुग्लीन–नारायणगढ सडकखण्डको ५०० मिटर सडकमा रोप्वे वेरियर राखेको थियो । यसको प्रयोगबाट सडक दुर्घटना कम भएको समेत विभागको निष्कर्ष रहेको छ । इन्जिनियर बाहारीकाअनुसार यसको प्रयोगलाई अब व्यापक विस्तार गरिनेछ भने जसले आगामी दिनमा सडक दुर्घटनालाई कम गर्दै लैजान सहयोग पुग्नेछ ।

