काठमाडौं । जीली अटोमोबाइल होल्डिङको प्रिमियम इलेक्ट्रीक कार कम्पनी जिकरको वार्षिक बिक्री लक्ष्य पूरा गर्न नसक्ने देखिएको छ ।
कम्पनीले सन् २०२४ मा २ लाख ३० हजार युनिट कार बिक्री गर्ने लक्ष्य राखेकोमा ८ महिना लक्ष्यको आधा मात्रै बिक्री गर्न सकेको हो ।
अगस्टसम्म कम्पनीले जम्मा १ लाख २१ हजार ५४० युनिट कार बिक्री गरेको छ । यो वार्षिक बिक्री लक्ष्यको ५२.८४ प्रतिशत मात्रै हो । अब कम्पनीले ४ महिनामा १ लाख ८ हजार ५६० वटा कार बेच्नु पर्ने छ । यो असम्भव जस्तै देखिन्छ ।
जिकरले गत जुनमा सबैभन्दा धेरै २० हजार १०६ युनिट कार बिक्री गरको थियो । लक्ष्य अनुसार व्यापार बढाउन नसकेको जिकरलाई गत साता मात्रै लन्च भएको इलेक्ट्रीक एसयूभीले भने केही आशा जगाएको छ ।
जिकरको नयाँ एसयूभी ७ एक्सको अगस्ट ३० मा बुकिङ सुरु भएकोमा जम्मा २१ दिनमै ५८ हजार ४२९ युनिट रिजर्भ भएको थियो । कम्पनीले ५ दिनमै १ हजार युनिट डेलिभरी भइसकेको छ । जिकरको यो नयाँ एसयूभीले टेस्लाको मिडसाइज क्रसओभर मोडल वाईसँग प्रतिस्पर्धा गर्नेछ ।जिकरले यसै वर्षको सुरुवातमा न्यूयोर्क आईपीओ मार्फत ४४१ मिलियन डलर फण्ड रेज गरेको थियो । उक्त समयमा कम्पनीले सन् २०२५ र २०२६ का लागि ५ वटा थप कार मोडलहरूको घोषणा समेत गरेको थियो । चीनमा पीएचईभीको माग बढेसँगै जिकरले आगामी वर्षदेखि प्लगइन हाइब्रिड मोडलहरू समेत बिक्री गर्ने योजना बनाएको छ ।

